१३ औं साग : पोखरा ब्याडमिन्टन हलको काम अन्तिम चरणमा , सागमा ७ राष्ट्रको सहभागीता हुने

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने व्याडमिन्टन खेलको लागि निमार्ण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो।

“ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ” कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वर सिहं गुरुङले बताए। खेलाडिको लागि चाहिने पूर्वाधार समेत सबै निमार्ण भएको उनले जानकरी दिए।

ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेको छ । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ। ब्याडमिन्टनको लागि म्याट भन्सार बाट हिडिसकेको गुरुङले बताए । व्याडमिन्टन हल निमार्णको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए।

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने छन्। जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन भने विदेशी सहित ५ जना प्रशिक्षक रहेका छन । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागीता रहेको छ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागीता जनाएका छन्। त्यस्तै पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरि १३ जनाको सहभागीता रहेको छ । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहेका छन्।

बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले सहभागीता जनाउने छन्।
श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन्। जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहेका छन्।भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हुदैँ छन । जसमा ४ पुरुष, २ महिला खेलडी तथा एक प्रशिक्षकले सहभागीता जनाउने भएका छन्। माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागीता जनाउने छन्। जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुने छन्।

पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गते देखि २० गते सम्म सञ्चालन हुने छ । टिम इभेन्ट तर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन्।

त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ मंसीर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुने छन भने । १८ गते महिला तथा पुरुष सिङ्गल र डवल्सको क्वाटरफाईनल खेल हुने छ भने १९ गते सबै इभेन्टकाा सेमिफाइनल खेल हुने छन भने २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिए ।

२०७६ मंसिर ९, सोमबार मा प्रकाशित