साग महिला भलिबल : नेपाल आज भारतसंग खेल्दै ( सम्पूर्ण जानकारी )

दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत नेपाली महिला भलिबल टिमले आफ्नो दोश्रो खेलमा भारतको सामना गर्दैछ।

बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेशलाई सहजै पराजित गरेको नेपाली महिला टिम सामु बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्ने चुनौती रहेको छ। बंगलादेशलाई नेपालले २५-८, २५-९ र २५-११ को सोझो सेटमा पराजित गरेको थियो।

भारतसंग पराजय बेहोरेको खण्डमा नेपालको समुह ‘ए’ बाट सेमीफाइनल यात्रा बंगलादेश र भारत बीचको अर्को खेलले तय गर्नेछ।

भारत र नेपाल महिला भलिबल टिम बीच खेल बेलुका ५ बजे सुरु हुनेछ। खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा रहेको राखेपको कभर्ड हलमा खेलिनेछ। खेलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा नेपाल टेलिभिजन प्लस र याक्सन स्पोर्ट्सले गर्नेछ। अनलाइनमा नेपाल टेलिभिजनको वेबसाइटमा खेलको प्रत्यक्ष प्रशारण हेर्न पाइनेछ। लाइभ हेर्ने लिंक 

बुधबार सम्म पनि भारतले साग भलिबलमा प्रतिस्पर्धा गर्ने या नगर्ने निश्चित थिएन। बुधबार राति मात्र टिम काठमाडौँ आइपुगेको हो। नेपाल पुगेर भारतीय टिमले बिहिबार बिहान राखेप कभर्ड हलमा अभ्यास गर्यो। नेपाली टिमले पनि बिहान अभ्यास गर्यो।

बंगलादेश बिरुद्ध नेपालले सर्भिसमा धेरै गल्ति गरेको थियो

बंगलादेशसंग गरेको गल्ति नदोहोर्याउने चुनौती 

बंगलादेशसंग जित हात पारित पनि नेपाली टिमले आशा अनुरुप प्रदर्शन गर्न सकेको थिएन। नेपालले कमजोर बंगलादेशलाई सहजै पराजित गरेता पनि धेरै गल्तिहरु गरेको थियो। विशेष गरि बंगलादेशले प्राप्त गरेको अधिकांश अंक नेपालले गरेको सर्भिस गल्तिको कारण प्राप्त गरेको थियो। यस्तै नेपालले सुस्त पनि खेलेको थियो।

भारत बिरुद्ध सम्पूर्ण क्षमता सहित खेल्नेछौ

बंगलादेशसंगको खेल जितेपछि नेपाली टिमका प्रशिक्षक जगदीश भट्टले भारतसंग बंगलादेशसंगको गल्ति नदोहोर्याउने र राम्रो खेल्ने बताएका छन्।

“नयाँ टीम भएकाले बंगलादेशको स्तर हाम्रो भन्दा तल थियो। उनीहरूले सुस्त खेल खेलेका कारण हाम्रो खेल पनि त्यस्तै देखियो। उनीहरूको प्रदर्शन कमजोर हुँदा हामीले पूर्ण क्षमता देखाउन पाएनौं।”

प्रशिक्षक भट्ट

“भारत दक्षिण एशियाको पावर हाउस हो, उनीहरूसँग खेल्दा हामी सम्पूर्ण क्षमतासहित राम्रो प्रदर्शन गर्दै समर्थकलाई रोमाञ्चित बनाउने छौं। भारतलाई जितेको खण्डमा हाम्रा लागि स्वर्ण निश्चित हुन्छ।”

साग अन्तर्गत नेपाली महिला टिमले यस अघि सन् १९९९, २००६ र २०१२ मा कास्य पदक जितेको थियो। यो पटक नेपाली टिमले कम्तिमा रजत पदकको आशा गरेको छ। भर्खरै बंगलादेशमा आयोजित एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टिममा आत्मविश्वास देखिएको छ।

नेपाली महिला भलिबल टिम – अरुणा शाही ( कप्तान ) , प्रतिभा माली, सरस्वति चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिस्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी, हिरा केसी

( सन्दर्भ श्रोत – देखापढी )

२०७६ मंसिर १२, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment