दक्षिण एसियाली फुटबल (साग) अन्तर्गतको दशरथ रंगशालामा आयोजना हुने पुरुष फुटबल प्रतियोगिताको लागि हरेक दिन १४ हजार टिकट बिक्रि गरिने भएको छ ।
२०७२ सालमा आएको भुकम्पले क्षतिग्रस्त बनेको नेपालको एकमात्र अन्तराष्ट्रिय फुटबल मैदान करिब ५ बर्षपछि खेल्न योग्य बनेको हो । यसलाई खेल्न योग्य बनाउन र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नको लागि पुन अन्तराष्ट्रिय योग्यता प्राप्त बनाउंदै १५ हजार सिटहरु समेत जडान गरिएको छ । तर सिट संख्या १५ हजार भएपनि दर्शकले भने १४ हजार टिकटमात्र काट्न पाउने छन् ।
सागमा आयोजक रहेको नेपालको सहभागी टिमले केहिदिन अघि रंगशाला पुगेर अभ्यास समेत गरिसकेको छ ।
यसरी काट्न सकिन्छ टिकट
यस प्रतियोगिताको लागि दर्शकले अनलाईन पार्टनर रहेको ई-सेवाको मोबाइल एप्लिकेसन र वेबसाइटबाट काट्न सक्नेछन् । प्रतियोगिताको उद्घाटन दशरथ रंगशालामा नै मङ्सिर १५ गते हुनेछ जसको लागि तयारी जारि रहेको छ । प्रतियोगिता मङ्सिर १५ गतेदेखि औपचारिक रुपमा सुरु हुने भएपनि भलिबल अन्तर्गतका खेल भने बुधबारबाट सुरु भईसकेका छन् ।
दर्शकले दशरथ रंगशालामा फुटबलको लागि साधारण तर्फ़ ५०० र भिआईपी तर्फ १००० रुपैयाँको टिकट काट्न सक्नेछन । टिकट काट्दा सिट नम्बरपनि उपलब्ध हुने ई-सेवाले जनाएको छ । खेल हुने दिन अनिवार्य रुपमा टिकटको प्रमाण र आफ्नो परिचय खुले कागजपत्र बोकेर जानुपर्नेछ । फुटबल तर्फका खेलहरु मङ्सिर १६ गतेदेखि सुरु हुनेछन ।