महिला क्रिकेट टिमको लक्ष्य स्वर्णपदक – प्रशिक्षक टमाटा

पोखरा, नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक जगतबहादुर टमटाले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने बताएका छन्।

पोखरा रंगशालामा अभ्यासका क्रममा भेटिएका प्रशिक्षक टमटाले यसपटक नेपालको टोली पूर्णतया सन्तुलित रहेको बताए । ‘हामी ब्याटिङ्ग र बलिङ्ग दुवैतर्फ बलियो छौं, फिल्डिङ्गमा खेलाडीहरु फुर्तिला छन्’ – उनले भने ।

श्रीलंका र बंगलादेश नेपालका लागि बराबरिको प्रतिद्वन्दी हुने उनले बताए । यसअघि नेपालले दुवै देशसंग प्रतिस्पर्धा गरिसकेको छ । यि दुवै राष्ट्रसंगको नतिजा दिनमा निर्भर रहने प्रशिक्षक टमटाको भनाई छ । ‘टी–ट्वान्टी हो, जसको दिन लाग्छ, जित उसैको हुन्छ’ उनले भने।

पोखरामा अभ्यास गर्दै नेपाली महिला टिम ( फोटो – निरा राजोपाध्याय )
पोखरामा अभ्यास गर्दै नेपाली महिला टिम ( फोटो – निरा राजोपाध्याय )

बुधबारमात्र पोखरा आइपुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार पोखरा रंगशालामा अभ्यास गरेको थियो । यहाँका १९ वर्ष मुनिका बलरहरुले गरेको बलिङ्गमा नेपाली महिला व्याट्स्उमनहरुले व्याटिङ्ग गरे । ‘पिच उत्कृष्ट बनेको छ, आउटफिल्ड पनि मनपर्यो’– नेपाली टोलीका क्याप्टेन रुबीना क्षेत्रिले भनिन् ।

नेपाली महिला टोली :  रुबिना क्षेत्री बेलबासे (कप्तान), सिता राना मगर (उप कप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ (विकेटकीपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ती), रोमा थापा, डली भट्ट र कविता कुँवर । वैकल्पिक खेलाडी : ज्योति पाण्डे, संगिता राई र अस्मिना कर्माचार्य ।
प्रशिक्षक : जगत टमटा ।

महिला क्रिकेटको खेलतालिका

महिला क्रिकेटतर्फ भारत, पाकिस्तान र भुटानले समेत सहभागिता नजनाउने हुँदा नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ४ टिम सहभागी हुनेछन्। महिलातर्फ सबै टिमले आफ्नो सिनियर टिम सहभागी गराउने छन्। सबै खेलहरु पोखरा रंगाशालामा खेलिनेछ।

नेपाली महिला टिमले पहिलो खेल माल्दिभ्ससंग डिसेम्बर २ ( मङ्सिर १६ ) मा खेल्नेछ , दोश्रो खेल बंगलादेशसंग डिसेम्बर ४ ( मङ्सिर १८ ) मा , तेश्रो खेल श्रीलंकासंग डिसेम्बर ६ ( मङ्सिर १९ ) मा खेल्नेछ। माल्दिभ्ससंगको खेल ११ बजे, बंगलादेससंग ९ बजे तथा श्रीलंकासंगको खेल ११ बजे सुरु हुनेछ। कास्य पदक र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

सबै टिमले एकअर्कासंग खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिम स्वर्ण पदकको लागि डिसेम्बर ८ ( मङ्सिर २२ ) मा खेल्नेछ। यस्तै तेश्रो र चौथो हुने टिम बीच कास्य पदकको लागि डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल हुनेछ।

( साभार – पोखरास्पोर्ट्स )

२०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित