साग भलिबल : सोझो सेटमा भारतसंग पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिर

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपाली भलिबल टिम समुह चरण बाटै बाहिरिएको छ।

समुह ‘ए’ अन्तर्गत दोश्रो चरणमा भारतलाई जित्ने पर्ने दबाबमा रहेको नेपाली टिमले हार बेहोरेपछि नेपालको यात्रा समाप्त भएको हो। पहिलो खेलमा नेपाल बंगलादेशसंग ३-२ को सेटमा पराजित भएको नेपाललाई सेमीफाइनल पुग्न भारत बिरुद्ध जित आवश्यक रहेको थियो।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित हुन पुग्यो। पहिलो सेट २५-१५ ले हारेको नेपालले दोश्रो सेट २५-१३ ले हारेपछि अन्तिम खेलमा सुधार देखाए पनि २५-१६ को अन्तरले पराजित हुन पुग्यो।

भारतीय भलिबल टिम

समुह ‘ए’ बाट भारत र बंगलादेश सेमीफाइनल प्रवेश गरेका हुन्। भारत नेपालसंगको खेल अघिनै सेमीफाइनल प्रवेश गरिसकेको थियो। भारतले पहिलो खेलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गरेको थियो।

महिला भलिबल : सेमीफाइनलमा नेपालको भेट श्रीलंकासंग 

साग भलिबल अन्तर्गत नेपाली महिला भलिबल टिम भने सेमीफाइनल प्रवेश गरिसकेको छ। समुह ‘ए’ को उपविजेताको रुपमा नेपाल सेमीफाइनल प्रवेश गरेको हो। समुह ‘ए’ को विजेताको रुपमा भारत सेमीफाइनल पुगेको छ।

नेपालले महिला भलिबलको सेमीफाइनलमा श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाले आज सम्पन्न खेलमा माल्दिभ्सलाई ३-० ले पराजित गरेपछि समुह विजेता हुँदै समुहप्र वेश गरेको हो। अर्को सेमीफाइनलमा भारतले माल्दिभ्ससंग खेल्नेछ। दुवै सेमीफाइनल खेल शनिवार खेलिनेछ श्रीलंकालाई पराजित गरे नेपालले स्वर्ण पदकको लागि खेल्नेछ।

Nepal womens volleyball team

महिला भलिबल टिमले पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा २५–८,२५–११ र २५–९ को सेटमा पराजित गरेको थियो। नेपाल भारतसंगभने  ३-० को सेटमा ( २६-२४, २५-१२ , २५-१६ ) विहिबार पराजित भएको थियो।

२०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित