१३ औं साग : महिला भलिबलको सेमीफाइनलमा नेपालको भेट श्रीलंकासंग

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सेमीफाइनलमा स्थान सुरक्षित गरेको नेपाली महिला भलिबल टिमले सेमीफाइनलमा श्रीलंकासंग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ बाट समुह विजेताको रुपमा भारत र उप-विजेताको रुपमा नेपाल सेमीफाइनल प्रवेश गरेको हो। दुवै खेल हारेको बंगलादेश भने समुह चरणबाट बाहिरियो।

समुह ‘बि’ बाट श्रीलंका र माल्दिभ्स सेमीफाइनल प्रवेश गरेका हुन्। आज सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेपछि समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। श्रीलंकाले माल्दिभ्सलाई २५-१५, २५-१८, २५-१४ ले हरायो।

श्रीलंकन महिला भलिबल टिम

अब सेमीफाइनलमा नेपालले श्रीलंकासंग तथा भारतले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल शनिवार खेलिनेछ। नेपाल र श्रीलंका बीचको खेल ७ बजे राति खेलिनेछ भने भारत र माल्दिभ्सको खेल ५ बजे हुनेछ। तेश्रो स्थानको लागि खेल सोमबार हुनेछ भने फाइनल मंगलबार हुनेछ।

नेपालले साग महिला भलिबलमा हालसम्म रजत र स्वर्ण पदक जित्न सकेको छैन।

साग पुरुष भलिबल अन्तर्गत नेपाल पहिलो चरणबाटै बाहिरीएको छ। नेपालले बंगलादेश र भारत दुवैसंग हार बेहोरेपछि यात्रा समाप्त भएको हो। शुक्रबार जित्ने पर्ने खेलमा नेपाली टिम भारतसंग २५-१५ , २५-१३ र २५-१६ अन्तरले पराजित हुन पुग्यो।

२०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित