साग महिला भलिबल : श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा

श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पुगेको छ।

दशरथ रंगशाला स्थित राखेपको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१४ ले जितेको नेपाली टिमले श्रीलंकालाई निरन्तर दबाबमा राख्न सफल रह्यो। दोश्रो सेट २५-१८ ले जितेपछि तेश्रो सेटमा श्रीलंकाले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेता पनि नेपाल २५-२१ ले विजयी भयो। नेपालको जितमा प्रतिभा माली एक्लैले २० अंक तथा सरस्वति चौधरीले १७ अंक दिलाए।

अब नेपालले स्वर्ण पदकको लागि फाइनलमा भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। आज सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गर्दै फाइनल पुगेको हो। भारतले माल्दिभ्सलाई २५-१४, २५-६ र २५-१७ ले पराजित गरेको थियो।

प्रतियोगिताको समुह चरणमा भारतले नेपाललाई सोझो सेटमा पराजित गरेको गर्दै समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। नेपाललाई भारतले २६-२४, २५-१२ र २५-१६ ले पराजित गरेको थियो।

सागमा नेपाली महिला भलिबल टिमले हालसम्म रजत तथा स्वर्ण पदक जित्न सकेको छैन।

भारत र नेपाल बीच फाइनल खेल डिसेम्बर ३ तारिकमा खेलिनेछ।

नेपाली पुरुष भलिबल टिम भने पहिलो चरणबाट बाहिरीसकेको छ। नेपालले समुह चरणमा भारत र बंगलादेशसंग हार बेहोरेको थियो।

फोटोहरुमा हेर्नुस नेपाल – श्रीलंका सेमीफाइनल 

२०७६ मंसिर १४, शनिबार मा प्रकाशित