एपीएफ चन्द्रागिरी गोल्डकप च्याम्पियन

काठमाडौं, १४ मंसिर। विभागीय क्लब नेपाल एपीएफ क्लब तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

शनिबार भएको उपाधि भिडन्तमा अर्काे विगाीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै एपीएफ तेस्रो संस्करणको च्याम्पियन बनेको हो । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलिबाट निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरी टुंगिएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

टाईब्रेकरमा एपीएफका सबै पाँच खेलाडी सुदिप शिख्राकार, कप्तान नवीन लामा, आशिष लामा, बुद्धिमान राई र रामकुमार कुमालले गोल गरे । पुलिसका सुमन लामा, अजित भण्डारी, हेम तामाङ र भोला सिलवालले गोल गरे । कप्तान जुमानु राईको पेनाल्टी एपीएफका गोलरक्षक अमृत चौधरीले बचाए । पुलिसले इन्ज्युरी समयमा पेनाल्टी एक्सपर्टको रुपमा रहेका रोशन खड्कालाई मैदान पठाएपनि उनले कुनै प्रहार चाउन सकेन ।

त्यसअघि निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको सातौ मिनेटमा प्रवी स्याङ्तानले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । आशिष लामाको फ्रिकिकलाई गोलरक्षक शत्रुघन चौधरीले बचाएपनि रिवाउन्डमा अनमार्क रहेका प्रवीनले गोल गरेका थिए ।

एक गोलले पछि परेपछि पुलिसले आक्रमक खेल खेल्दै एपीएफलाई लगातार दवावमा राखेपनि बराबरीको लागि ४२औं मिनेट कुर्नुपरेको थियो । करिव ३५ यार्डमा प्राप्त फ्रिकिकलाई निर कुमार राईले सुन्दर गोल गरेका थिए । उनको फ्रिकिकलाई एपीएफका गोलरक्षक अमृत चौधरीले रोक्ने कुनै मौका नै पाएन । त्यसअघि ३१औं मिनेटमा रवि पासवानले बराबरीको मौका खेर फालेको थियो । ३३औं मिनेटमा सुमन लामाको फ्रिकिक सदुपयोग हुन सकेन । ३५औं मिनेटमा एपीएफका बिक्की लामाको क्रसलाई गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाए । ३६औं मिनेटमा पुलिसका कप्तान जुमान राईले सुन्दर मौका खेर फाल्यो ।

प्रतिस्पर्धात्मक दोस्रो हाफमा पनि दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फालेको थियो । ५०औं मिनेटमा निरकुमार राईले प्रहार पोस्टबाट थोरै बाहिरियो । ५९औं मिनेटमा बिक्की तामाङको क्रसमा अनमार्क रहेका प्रविनको हेडर फितलो बन्यो । ८१औं मिनेटमा निरज चौधरीको प्रहार आकासियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एपीएफले बाजी मारेको हो ।

च्याम्पियन बनेसँगै एपीएफले ६ लाख ५० हजार रुपैया हात पार्यो । दोस्रो भएको नेपाल पुलिस क्लबले ३ लाख ५० हजार रुपैयामा चिक्त बुझायो । एपीएफका गोलरक्षक अमृत चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । उनले प्रतियोगितामा एपीएफलाई फाइनलसम्म पुर्याउन तीनै खेल तथा पेनाल्टीमा उच्च प्रदर्शन गरेका थिए । एपीएफकै प्रविन स्याङ्तान प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर दुई गोल गरे । उनीहरु दुवैले समान ३० हजार रुपैया हात पारे ।

विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, पुर्व अन्तर्राष्ट्रिय खेलाडी बसन्त गौचन, आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र पुर्व अन्तर्राष्ट्रिय खेलमाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकीलगायतले पुरस्कृत गरे ।
गत ३० कात्तिकदेखि शुरु भएको तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

२०७६ मंसिर १४, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment