पाकिस्तानलाई १४ औं साग आयोजना जिम्मा दिंदै सकियो १३ औं साग

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट शुरु भएको प्रतियोगिताको मंगलबार भब्य समापन समारोह बीच सम्पन्न भएको हो।

समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा हर्ष ब्यक्त गर्नुभयो । उहाँले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यबाद ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आगामी दिनमा खेलकुदको अझ बिकासका लागि सरकारले पर्याप्त पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको बताउनु भयो । ३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उहाँले यो सफलताले बिश्वसामु नेपालको शिर अझ उचो भएको बताउनु भयो । उपप्रधानमन्त्री पोखरेलले सगरमाथाको देश नेपाल अब खेलका माध्ययमबाट पनि बिश्वसामु चिनिने उल्लेख गर्नुभयो ।

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो

युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै सहभागि राष्ट्र, खेल ब्यबस्थापक, खेलाडीलगायत सबैलाई धन्यबाद दिनुभयो ।

स्वागत मन्तब्य ब्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताले खेल क्षेत्रमा अझ उर्जा र उत्साह जागेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अबस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताउनु भयो । यसअघि दुई-दुई पटक सरेको प्रतियोगिता आफू सदस्य–सचिब भएको चार महिनाभित्रै सम्पन्न गर्न सकिएको भन्दै उहाँले सफलताका लागि खट्ने सबैलाई धन्यबाद दिनुभयो ।

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा बिभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजीलगायतका बिशेष प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रका लागि बिशेष प्याकेजको घोषणा गर्नुहुने सो अवसरमा जानकारी गराईएको थियो।

समापन समारोहको तस्बिरहरु 

२०७६ मंसिर २४, मंगलवार मा प्रकाशित