सागमा ४ स्वर्ण जितेकी गौरिकालाई ५९ लाख पुरस्कार

काठमाडौं । गौरिका सिंहले दक्षिण एसियाली खेल सागमा ४ स्वर्ण जितेवापत ५९ लाख रुपैयाँ पाउने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दुई भन्दा बढी स्वर्ण जित्नेहरुलाई ११ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । प्रधानमन्त्री एक मात्र स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ दिने बताएका छन् ।

गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कास्य जितेका कारण ११ लाखको दरले ५९ लाख पाउनेछिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने बताए ।

चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजततको ६ लाखका दरले १२ लाख । तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा ३ लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन्। उनी नेपाल आर्मीमा आबद्ध छिन्।

टिम इभेन्टमा भएका कमजोरीलाई थप प्याकेज बनाएर सोच्न सकिने उनको भनाई थियो । उनले भने, ‘टिममा पाँच लाख अलि कम भए जस्तो देखियो । तर फुटबलमा २३ जनालाई ५ लाख गर्दा त १ करोड माथि हुन्छ । गोल्ड मेडल त एउटै काउन्ट हुन्छ । अझ पनि टिम इभेन्टमा कमजोरी छ भने थप प्याकेजबारे सोच्न सकिन्छ ।’

मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोश्रो भएको थियो । जुन सागमा अहिलेसम्मकै नेपालको उत्कृष्ट प्रदर्शन हो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल दोश्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।

२०७६ मंसिर २६, बिहीबार मा प्रकाशित