तेक्वान्दो पदक विजेतालाई सुमेरुको नगद पुरस्कार

सुमेरु ग्रुपले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई शनिबार नगद पुरस्कार प्रदान गरेको छ ।

नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित आफ्नै एकेडेमी हलमा आयोजना गरेको बधाइ तथा पुरस्कार वितरण कार्यक्रममा उनीहरु पुरस्कृत भएका हुन् ।

तेक्वान्दोमा पुम्से र ग्योरोगी गरी २९ स्पर्धामा प्रतिस्पर्धा भएकोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । तेक्वान्दोमा सहभागी सबै नेपाली खेलाडी पदक हात पार्न रहे । सागको तेक्वान्दोमा नेपालले हासिल गरेको यो दोश्रो ठूलो उपलब्धी हो । नेपालमै भएको आठौं संस्करणमा तेक्वान्दोले १४ स्वर्ण र २ रजत जितेको थियो । आठौं संस्करणदेखि सागमा पहिलो पटक प्रवेश पाएको तेक्वान्दो १२ औं सागमा मात्र स्वर्णविहीन छ । तेक्वान्दोले नवौंमा ६ स्वर्ण, दसौंमा २ स्वर्ण, ३ रजत र १ कांस्य तथा एघारौंमा २ स्वर्ण तथा उत्तिनै रजत र कांस्य हात पारेको थियो । १२ औं सागमा भने नेपालले ७ रजत र ३ कांस्य पदक हात पारेको थियो।

सुमेरुले व्यक्तिगत स्वर्णलाई ५० हजार, पेयरलाई २५ हजार र टिमलाई २० हजार नगद प्रदान गर्यो । रजत पदक विजेतालाई २५ हजार, व्यक्तिगत तथा पेयर÷टिममा कांस्य जित्नेलाई क्रमशः १५ हजार र २० हजार नगद पुरस्कार दिइयो ।

त्यस्तै मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले २० हजार तथा प्रशिक्षकहरु क्वान योङ दल, टीका लिम्बू, संगीना वैद्य, दीपक विष्ट, नोर्बु लामा र हीराबहादुर थापाले जनही १५ हजार नगद पुरस्कार थापे । व्यस्थापक श्रीमान थापा मगर र पूर्णकुमार योञ्जनले जनही १५ हजार नगद पुरस्कार पाए ।

उनीहरुलाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले दोहोरो स्वर्ण विजेता आयशालाई ब्रान्ड एम्बासडर बनाउन चाहेको बताउदै पदक विजेता खेलाडीलाई सुमेरु अस्पतालमा उपचार गराउन ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

२०७६ मंसिर २८, शनिबार मा प्रकाशित