पिपिएल : चितवनका स्पिनरहरु चम्किदा पोखरा १०७ रनमै समेटियो

पोखरा प्रिमियर लिग टि-२० (  पिपिएल ) अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन टिम पोखरा पल्टन र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन्।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको छ।

कमजोर सुरुवात गरेको पोखराका ओपनर कुशल भुर्तेल ५ तथा आसिफ शेख १० रन बनाएर आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका कुशललाई सन्नी पटेलले एलबिडब्लु आउट गरे भने आसिफलाई बिक्रम सोबले क्याच आउट गराए। १० रन बनाएर रभी इन्दर सिंह पनि पेभेलियन फर्किंदा पोखरा झनै दबाबमा पर्यो। उनलाई पारस खड्काले बोल्ड गरे।

अगतर विकेट गुमेता पनि शरद भेसावकरले एक किनार सम्हालेर धैर्यतापूर्वक ब्याटिंग गरे। तर अर्को किनारबाट लगातार विकेट जाने क्रम रोकिएन। बिनोद भण्डारी ७ रन, कुशल मल्ल १३ रन तथा रोहित पौडेल खाता नखोली आउट भए।

शरद भेसावकरले ४५ रन बनाए

४५ रन बनाएर कप्तान शरद पनि १८ औं ओभरमा आउट भए। शरदलाई रोहन मुस्तफाले आफ्नै बलमा आफैले क्याच आउट गराए। शरदले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। राशिद खानले १ छक्का मदतले १० रन बनाए।

चितवनको बलिंगमा रोहन मुस्तफा, भुवन कार्की र सन्नी पटेलले समान २/२ विकेट हात पारे। रोहनले ४ ओभरमा २२ रन, सन्नीले ४ ओभरमा १५ रन तथा भुवनले ३ ओभरमा १६ रन खर्चिए। बिक्रम सोब, करन केसी र पारस खड्काले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत यो चितवनको पहिलो खेल हो। पोखराले भने यस अघि एक खेल खेल्ने क्रममा काठमाडौँ गोल्डेनलाई ९ विकेटले पराजित गरेको थियो।

( फोटोहरु – पोखरा पल्टन फेसबुक )

२०७६ पुष १, मंगलवार मा प्रकाशित