कुलदिपको कीर्तिमानी ह्याट्रिक, रोहितको विशाल शतक , ठुलो जित सहित भारतले गर्यो सिरिज बराबरी

रोहित शर्माको विशाल शतकीय पारि तथा कुलदिप यादबको ह्याट्रिक विकेट मद्दतले वेस्टइन्डिजलाई दोश्रो एकदिवसीयमा १०७ रनले पराजित गर्दै भारतले तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरी गरेको छ। पहिलो एकदिवसीयमा भारत ८ विकेटले पराजित भएको थियो।

भारतको भिसाकापटनममा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३८७ रन बनाएको थियो। ३८८ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले ४३.३ ओभरमा २८० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

वेस्ट इन्डिजको लागि ओपनिंग ब्याट्सम्यान शाइ होपले सर्वाधिक ७८, निकोलस पुरनले ७५ तथा किमो पौलले ४६ रन बनाए। होप र पुरनले चौथो विकेटको लागि १०६ रनको साझेदारी गर्दै एक समय वेस्टइन्डिजलाई जिततर्फ लैजाने प्रयास गरेता पनि लगातार विकेट गुम्दा जित नजिक पनि पुग्न सकेन।

भारतको बलिंगमा मोहम्मद शामी र कुलदिप यादबले समान ३/३ विकेट लिए भने रभिन्द्र जडेजाले २ र शार्दुल ठाकुरले १ विकेट लिए।

३ विकेट लिने क्रममा कुलदिप यादबले एकदिवसीयमा दोश्रो पटक ह्याट्रिक लिएका छन्। ह्याट्रिक लिने क्रममा उनले ३३ औं ओभरको अन्तिम ३ बलमा शाइ होप, जेसन होल्डर र अल्जारी योसेफको विकेट लिएका थिए। यस अघि हुने सन् २०१७ मा अस्ट्रेलिया बिरुद्ध कोलकातामा ह्याट्रिक लिएका थिए। भारतको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा एक भन्दा बढी ह्याट्रिक लिने किर्तिमान कुलदिपले आफ्नो नाम गरेका छन्।

एकदिवसीयमा हालसम्म लासिथ मलिंगा, वासिम आक्रम, चामिन्दा भास, सक्लेन मुस्ताक र ट्रेन्ट बोल्टले एक भन्दा बढी ह्याट्रिक लिन सकेका छन्। मलिंगाले सर्वाधिक ३ पटक एकदिवसीय ह्याट्रिक लिएका छन्।

भारतको लागि एकदिवसीयमा यो पाँचौ ह्याट्रिक हो। सबै भन्दा पहिले चेतन शर्माले सन् १९८७ को विश्वकपमा न्युजिल्याण्ड बिरुद्ध ह्याट्रिक लिएका थिए। त्यसपछि कपिल देबले १९९१ मा श्रीलंका बिरुद्ध , कुलदिप यादबले २०१७ मा अस्ट्रेलिया बिरुद्ध तथा मोहम्मद शामीले अफगानिस्तान बिरुद्ध २०१९ विश्वकपमा ह्याट्रिक लिएका थिए।

रोहित र राहुलको शतक  

टस हारेर ब्याटिंग गर्ने क्रममा भारतीय ओपनिंग ब्याट्सम्यानद्वय रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटको लागि २२७ रनको साझेदारी गरेका थिए। भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो अहिलेसम्मकै चौथो ठुलो साझेदारी हो। सचिन तेन्दुलकर र सौरभ गांगुलीले सन् २००१ मा केन्या बिरुद्ध गरेको २५८ रनको साझेदारी भारतको लागि सर्वाधिक ठुलो साझेदारी हो।

३७ औं ओभरमा राहुल १०२ रन बनाएर आउट भए पछि साझेदारी टुटेको थियो। राहुलले दोश्रो एकदिवसीय शतक बनाउने क्रममा १०४ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

४४ औं ओभरमा कटरेलले क्याच आउट गर्नु अघि रोहितले १५९ रन बनाए। यस क्रममा रोहितले १३८ बलमा १७ चौका र ५ छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै १५० रन माथिको योगफलको किर्तिमान बनाएका रोहितको यो आठौँ १५० माथिको स्कोर हो। उनि भन्दा पछि डेभिड वार्नरले ६ पटक तथा सचिन तेन्दुलकर र क्रिस गेलले समान ५ पटक १५० माथिको स्कोर गरेका छन्।

कप्तान बिराट कोहली सामना गरेको पहिलो बलमै पोलार्डबाट क्याच आउट भए पछि। मध्यक्रममा श्रेयस ऐयरले ५३ तथा रिशाभ पन्तले ३९ रन बनाउदै भारतलाई विशाल योगफल तर्फ डोर्याएका थिए। ऐयर र पन्त दुवैले समान ४ छक्का र ३ चौका प्रहार गरे जुन क्रममा क्रमशः ३२ र १६ बलको सामना गरे।

वेस्ट इन्डिजको बलिंगमा शेल्डन कटरेलले ८३ रन खर्चेर २ विकेट लिए। किमो पौल, अल्जारी जोसेफ र कप्तान काइरन पोलार्डले समान १/१ विकेट लिए।

२०७६ पुष २, बुधबार मा प्रकाशित