ए डिभिजन लिग : डिफेन्डिङ च्याम्पियन मनाङको जित

काठमाडौं । साबिक विजेता मनाङ मस्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङले विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० गोलले हरायो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । मनाङको जितमा विमल राना नायक बने ।

दुई गोल गरेका विमलले २८औं मिनेटमा खाता खोलेका थिए । विमलले जजित श्रेष्ठको पासमा पोस्ट् नजिकबाट हेट गोल गरेका थिए । ६ मिनेट लगत्तैै दोस्रो गोल गरेका विमलले डीबक्स भित्र घम्साघम्सीबीच पाएको बलमा जाली चुमाएका थिए ।

खेलको म्यान अफ दी म्याच भएका उनले १० हजार रुपैयाँ पुरस्कार पाए । मध्यभागमा आकर्षक फुटबल खेलेको एपीएफको फिनिसिङ पक्ष कमजोर बन्यो । दोस्रो हाफमा मनाङलाई दबाब दिएको एपीएफले हारमा चित्त बुझायो । जितसँगै मनाङले तीन अंक बनाएको छ ।

२०७६ पुष २, बुधबार मा प्रकाशित