पारस, रोहन र आरिफले उत्कृस्ट ब्याटिंग गर्दा चितवनद्वारा बुटवललाई विशाल लक्ष्य

पोखरा प्रिमियर लिगको पाँचौ दिनको एक मात्र खेलमा पारस खड्का कप्तानीको चितवन राइनोज र सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गरिरहेका छन्।

पोखरा स्थित पोखरा रंगशाला क्रिकेट मैदानमा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०३ रन बनाएको छ।

चितवनको लागि युएईका खेलाडी रोहन मुस्तफाले सर्वाधिक ७० रन बनाए। अविजित इनिंग खेलेका मुस्तफाले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान खड्काले ४० बलमा ६ चौका र २ छक्का मदतले ६३ रन बनाए। आरिफ शेखले १९ बलमा ३ चौका र ३ छक्का मदतले ४० रन बनाए। सन्नी पटेल ४ रनमा अविजित रहंदा अघिल्लो खेलका प्लेयर अफ द म्याच बाबर हायात १ रनमा आउट भए।

उत्कृस्ट सुरुवात गर्ने क्रममा चिवनको लागि ओपनर रोहन मुस्तफा र पारस खड्काले ११.३ ओभरमा ११७ रनको ओपनिंग साझेदारी गरेका थिए। पारसलाई अफ्ताबुद्दीन एहमदले क्याच आउट गराएपछि बाबर हायातलाई पनि एहमदले लगत्तै पेभिलियन फर्काए।

तेश्रो विकेटको लागि मुस्तफाले आरिफ शेखसंग ६९ रनको साझेदारी गरे। आरिफ २० औं ओभरमा अविनाश बोहराबाट क्याच आउट भए।

बुटवलको बलिङ्गमा भारतीय क्रिकेटर अफ्ताबुद्दीन एहमदले २ विकेट लिए। अविनाश बोहराले १ विकेट लिए जसको लागि ४ ओभरमा ४० रन खर्चिए।

प्रतियोगिता अन्तर्गत यस अघि बुटवल र चितवनले खेलेको १/१ खेलमा जित हाँसिल गरिसकेका छन्। बुटवलले काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको थियो। यस्तै चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो।

२०७६ पुष ३, बिहीबार मा प्रकाशित