आरिफ शेख र सन्नी पटेलले अन्तिममा विस्फोटक ब्याटिंग गर्दा चितवनद्वारा बिराटनगरलाई १४७ रनको लक्ष्य

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत आइतबारको पहिलो खेलमा बिराटनगर टाईटन्स र चितवन राइनोज प्रतिस्पर्धा गरिरहेका छन्।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ।

चितवनको लागि आरिफ शेखले सर्वाधिक ३९ रन बनाए जुन क्रममा २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सन्नी पटेलले अविजित २७ रन बनाए जसमा १ चौका र ३ छक्का सामेल थियो। पारस खड्काले ३८ बलमा ५ चौका मदतले ३५ रन बनाए। बाबर हायातले ३१ बलमा २ चौका मदतले २५ रन बनाए।

७ रन बनाएका चितवन ओपनर रोहन मुस्तफा तेश्रो ओभरमा जितेन्द्र मुखियाबाट विकेटकिपर राजु रिजालबाट क्याच आउट गराएका थिए। दोश्रो विकेटको लागि कप्तान पारस खड्काले बाबर हायातसंग ४७ रनको साझेदारी गरे। ११ औं ओभरमा पारसलाई मोहम्मद जैद आलमले क्याच आउट गराए। लगत्तै अनिल शाह ३ रन बनाएर पुनित मेहराबाट बोल्ड भए। ठुलो सट खेल्न संघर्ष गरेका बाबर पनि १८ औं ओभरमा  किशोर महतोबाट क्याच आउट भए।

पाँचौ विकेटको लागि आरिफ शेख र सन्नी पटेलले मात्र १६ बलमा अविजित रहँदै ५४ रनको साझेदारी गरे।

बिराटनगरको बलिंगमा जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोमम्मद जैद आलमले समान १/१ विकेट लिए। जितेन्द्र मुखियाले ४ ओभरमा ५४ रन खर्चिए। मुखियाले गरेको १९ औं ओभरमा सन्नी पटेलले २ छक्का र एउटा चौका हिर्काएका थिए।

३ जित सहित लिग अंक तालिकाको शिर्षस्थानमा रहेको चितवन प्रतियोगिताको एक मात्र अपराजित टिम हो। आज बिराटनगरलाई पराजित गरेमा चितवन ४ जित सहित सोझै प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना प्रवल हुनेछ। अर्कोतर्फ ३ खेलमा १ जित र २ हार बेहोर्दै चौथो स्थानमा रहेको बिराटनगर दोश्रो जित हात पार्दै उत्कृस्ट-३ भित्र पर्दै प्लेअफ सम्भावना जीवित राख्न चाहन्छ।

 

२०७६ पुष ६, आईतवार मा प्रकाशित