बुटवललाई पराजित गर्दै बिराटनगर पिपिएलको फाइनलमा

इलिमीनेटरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै बिराटनगर टाईटन्स पोखरा प्रिमियर लिगको फाइनलमा पुगेको छ। शनिवार हुने फाइनलमा बिराटनगरले चितवन राइनोजको सामना गर्नेछ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा बिराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा १४४ रनमा सम्पूर्ण विकेट गुमाएको हो।

लक्ष्य  पछ्याउने क्रममा बुटवलको लागि भिम शार्कीले सर्वाधिक ४४ तथा अफ्ताबुद्दीन एहमदले ४३ रन बनाएता पी अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टिम पराजित हुन पुग्यो। पुरन बिकले १५ तथा शिभम सिंहले १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१५ ओभरमा १२७/४ को अवस्थामा रहेको बुटवललाई जितको लागि ३० बलमा ३९ रन मात्र आवस्यक रहेको थियो। सो अवस्थामा १६ औं ओभरमा मोहम्मद जैद आलमले पुरन बिकको विकेट लिंदै बिराटनगरलाई खेलमा फर्काएका थिए। त्यसपछि १७ औं ओभरमा भिम शार्कीलाई किशोर महतोले आउट गरे। त्यसपछि बुटवलले रन बनाउन संघर्ष गरेको थियो।

अन्तिम २ ओभरमा २६ रन आवस्यक हुँदा जितेन्द्र मुखियाले १९ औं ओभर मेडन गर्दा बिराटनगर खेलमा हावी बनेको थियो। पुनित मेहराले अन्तिम ओभरको पहिलो २ बलमा सोमपाल कामि र ललित भण्डारी आउट भए भने अन्तिम बलमा अविनाश बोहरालाई आउट गर्दै बिराटनगरले खेल जितेको थियो।

पुनित मेहरा र शाहब आलमले बिराटनगरको लागि ३/३ विकेट लिए। किशोर महतो, जितेन्द्र मुखिया र मोहम्मद जैद आलमले समान १/१ विकेट लिए।

Shahab Alam

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बिराटनगर टाईटन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रनको योगफल तयार गरेको थियो।

बिराटनगरको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रन बनाए। प्रतियोगितामा पहिलो अर्धशतक बनाउने क्रममा धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान प्रदिप ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ३३ रन बनाए जुन क्रममा ४ छक्का र १ चौका प्रहार गरे। मोहम्मद जैद आलमले २० रन, लोकेश बम र पुनित मेहराले समान १९ रन बनाए।

धमलाले पहिलो विकेटको लागि जैद आलमसंग ३९ रनको दोश्रो विकेटको लागि लोकेश बमसंग २८ रनको तथा तेश्रो विकेटको लागि पुनित मेहरासंग ५७ रनको साझेदारी गरेका थिए।

इनिंगको अन्तिममा पाँचौ नम्बरमा ब्याटिंग गरेका ऐरीले आक्रामक ब्याटिंग गरे।  यस क्रममा अविनाश बोहराले गरेको अन्तिम ओभरमा उनले २ छक्का र १ चौका प्रहार गरे। बोहराले गरेको १८ औं ओभरमा ऐरीले एउटा छक्का तथा १९ औं ओभरमा ललित भण्डारीलाई एक छक्का उनले प्रहार गरे।

बुटवल ब्लास्टर्सको ब्लैंगमा हर्ष टोन्कले सर्वाधिक २ तथा ललित भण्डारी र अविनाश बोहराले १/१ विकेट लिए। सोमपाल कामि विकेट विहिन रहंदा ३ ओभरमा २२ रन खर्चिए। यस्तै ललितले ४ ओभरमा ३७ तथा अविनाशले ४ ओभरमा ३९ रन खर्चिए।

लिग चरणमा बिराटनगर अंकतालिकामा तेश्रो स्थानमा रहँदै इलिमिनेटर पुगेको थियो।

२०७६ पुष १०, बिहीबार मा प्रकाशित