१३ औं साग : ब्याडमिन्टनमा नेपालको २ वटा मेडल पक्का

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष र महिला ब्याडमिनटनको खेलहरु पोखरामा सुरु भएको छ।

पहिलो दिनमा नेपालले महिला र पुरुषतर्फ ब्याडमिन्टनको समुह इभेन्ट २ वटा पदक पक्का गरेको छ। आइतबार भएको खेलमा महिला तथा पुरुष दुबै टोली सेमीफाइनलमा प्रवेश गर्दै नेपालले २ पदक सुनिश्चित गरेको हो । सेमीफाइनलमा पराजित भएकै अवस्थामा पनि नेपालले कम्तिमा काश्य पदक पक्का भएको हो ।

नेपालका रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९ को सोझो सेटमा पन्छाए । अर्को खेलमा नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २–० को सोझो सेटमै पराजित गरे । उनले निदुपलाई २१–१३ र २१–१४ को सेटमा पराजित गरेका हुन् ।

यसैगरी तेश्रो खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२ र २१–५ को सेटमा हराउँदै सहज जित निकाले ।

महिलातर्फको खेलमा नेपालकी नङ्साल तामाङले बंगलादेकी शाल्पा अख्तरलाई ३–१ को सेटमा पराजित गरिन् उनले शाल्पालाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरेकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को कठीन जित हात पारिन् ।

पदक सुनिश्चित भएपछि नेपालका प्रशिक्षक सुदीप योञ्जनले टफ गेममा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा जित निस्केको बताए । उनले सेमीफाइनलमा पनि आइतबारजस्तै खेलाडीले शतप्रतिशत खेले फाइनल पुग्ने सम्भावना रहेको बताए ।

बंगलादेशका प्रशिक्षक गौतम चण्डुपालले रेफ्रिका कारण आफूहरुले हार बेहोर्नुपरेको दाबी गरे । हाम्रो तर्फको प्रहारलाई लाईन रेफ्रीले धेरै जसो आउट लिदिएका कारण आफुहरु पराजित हुनुपरेको उनको भनाई थियो । यद्यपि महिला व्याडमिण्टनमा आफनो प्रदर्शन सन्तोषजनक रहेको उनले बताए ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भइरहेको खेलमा ७ स्वर्ण, ७ रजत र १४ काश्य गरी २८ पदकका लागि ७ देशका ९४ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।

( साभार – पोखरास्पोर्ट्स )

२०७६ मंसिर १५, आईतवार मा प्रकाशित