सुटिङ : २५ मिटर पेस्तोलमा भारतलाई स्वण र रजत

काठमाडौं, १८ मंसिर , १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङ तर्फ आज पनि भारतले बर्चश्व जमाएको छ । महिला २५ मिटर पेस्तोलको व्यक्तिगत र टिम इभेन्टको दुवै फाइनलमा भारतले स्वर्ण पदक जित्न सफल भएको छ । व्यक्तिगत तर्फ स्वर्ण र रजत हात पारेको भारतले व्यक्तिगतमा पनि स्वर्ण जित्न सफल भयो ।

भारतकी अनुराज सिंहले ३० प्वाइन्टका साथ स्वर्ण पदक जित्दा २८ प्वाइन्ट जोडेकी भारतकै गौरी सिरोनले रजत पदक जितेकी थिइन् । यसैगरी पाकिस्तानकी कविर रवियाले २१ प्वाइन्टका साथ कास्य पदक हात पार्न सफल भइन् । नेपाली खेलाडीहरु भने यस प्रतियोगिता अन्तर्गत छनोट राउण्डबाटै आउट भएका थिए ।

यसैगरी, भारतकी निरज कौर १४ प्वाइन्टका साथ चौथो स्थानमा रहँदा बंगलादेशकी आरदिन फिरदोस १२ प्वाइन्टका साथ पाँचौं, श्रीलंकाकी डी एलभिस ८ अंकसहित छैटौं , ७ अंक जोडेकी श्रीलंकाकी अवियमना एम.टी.आर ६ अंकसहित आठौं स्थानमा रहे ।

टिम इभेन्टसमा भारतीय खेलाडीले बाजी मारे । भारतकी अनुराज सिंह, गौरी सिरोन र निरज कौरको समूहले १६९१ प्वाइन्टका साथ स्वर्ण पदक जितेको छ । यसैगरी श्रीलंकाले रजत पदक हात पारेको छ । श्रीलंकाका डी एलभिस , एम.टी.आर एभियमाना र एस.सी.जी कन्डेवालाको समूहले १६५५ प्वाइन्टका साथ रजत पदक हात पारेको छ । यस्तै पाकिस्तानका लुवना अमिन, रविया कविर र मेविस फरहानको समूहले १६३० प्वाइन्टका साथ कास्य पदक जित्न सफल भयो ।

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित