लन टेनिस : पाकिस्तानलाई पराजित गर्दै भारतलाई स्वर्ण

१३ औं साग अन्तर्गत लन टेनिसको पुरुषतर्फको फाइनलमा भारतले पाकिस्तानलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो । लगातार दुई सिंगल्सको खेल जितेपछि भारतले डबल्स खेल्नुअघि नै स्वर्ण पदक सुरक्षित गरेको थियो ।

पहिलो सिंगल्समा भारतका श्रीराम बालाजी नारायण स्वामीले पाकिस्तानका मुजाम्मिल मुर्तजालाई ४–६, ६–३ र ६–३ ले हराए । अर्को सिंगल्समा भारतका संकेत मिनेनीले पाकिस्तानकाअकिल खानलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

सिंगल्सको दुईवटा म्याचमा पराजित भएपछि पाकिस्तानले डबल्स खेलेन ।

महिलातर्फको फाइनलमा भारतले श्रीलंकालाई हरायो । भारतकी प्रेरणा भाम्ब्रीले अनिका सेनेभिरत्नेलाई ६–१ र ६–३ ले हराइन् । अर्को सिंगल्समा सत्विका समाले अन्जलिका कुरेरालाई ६–४ र ६–३ ले पराजित गरिन् ।

डबल्सतर्फ सौजन्या बाभिसेटी र श्रब्यासिभानी चिलाकालापुडीको जोडीले एलाना सेनेभिरत्ने र रुसिया विजेसुर्याको जोडीलाई ६–२ र ६–१ ले हराए ।

पुरुष र महिलाको दुबै टिम इभेन्टमा नेपालले कास्य पदक हात पारेको छ । पुरुषतर्फ भुटानले पनि कास्य पदक हात पार्दा महिलातर्फको अर्को कास्य पदक पाकिस्तानले हात पार्यो ।

आजैदेखि डबल्सतर्फको प्रतिष्पर्धा पनि सुरु भएको छ । पुरुष डबल्सतर्फ नेपालका प्रणव खनाल र संरक्षक बज्राचार्यको जोडीले बंगलादेशका आलमगिर हुसेन र मोहम्मदमिलनको जोडीलाई ६–२ र ६–४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । क्वार्टर फाइनलमा नेपाली जोडीले पाकिस्तानका अकिलखान र ऐसम उलहक कुरेसीको सामना गर्नेछन् । पाकिस्तानी जोडी बाई पाएर क्वार्टर फाइनलमा पुगेको थियो ।

डबल्सतर्फ श्रीलंकाका जे दिसानायके र डीथंगराजको जोडीले माल्दिभ्सका इग्नाजमन्सुर र अलिफारिस मोहमदको जोडीलाई ६–० र ६–० ले हराएको थियो ।

नेपालका प्रदीप खड्का र सन्तोष खत्रीको जोडी पहिलो चरणमै बंगलादेशका श्रीलंकाका अतुकोराले र डिसिल्भाको जोडीसँग ६–२ र ६–३ ले पराजित भयो ।

यस्तै बंगलादेशका फारुक हुसेन र श्री अमोर रोयको जोडीले भुटानका निदुपग्याल्चेन र पेमा नोर्बुको जोडीलाई ६–४ र ६–४ ले हराए ।

२०७६ मंसिर १८, बुधबार मा प्रकाशित