नेपाली टिमसंग ठुलो सहकार्य गर्न चाहेका देसाई वेस्ट इन्डिजको ब्याटिङ्ग कोचमा नियुक्त

वेस्ट इन्डिज क्रिकेट बोर्डले आगामी सन् २०२० र सन् २०२१ को टि-२० विश्वकपलाई मध्यनजर गर्दै यसअघि नेपालको ब्याटिंग कोचको रुपमा काम गरिसकेका मोन्टी देसाईलाई ब्याटिंग कोचको रुपमा नियुक्त गरेको छ ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले जारि गरेको प्रेस बक्तब्य अनुसार देसाईले वेस्ट इन्डिजलाई २ बर्षको लागि ब्याटिंग कोचको रुपमा सघाउने बताएको छ । उनले आफ्नो जिम्मेवारी वेस्ट इन्डिजको भारत बिरुद्द डिसेम्बर ६ तारिखदेखि सुरु हुने ३ टि२० र ३ एकदिवसीय खेलको सिरिजबाट लिनेछन् ।

आफ्नो १२ बर्षे कोचिङ्ग करियरमा इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्स र गुजरात लायन्ससंग समेत सहकार्य गरिसकेका देसाईले पहिलोपल्ट सन् २०१५ को टि२० विश्वकप छनोटमा नेपाली टिमको ब्याटिंग प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनि निरन्तर नेपाली टिमसंग विभिन्न समयमा जोडिएका थिए । त्यस्तै बर्मुडा, क्यानाडा र अमेरिका क्रिकेट टिमसंग समेत काम गरिसकेका छन् । सन् २०१९ को विश्वकप छनोटमा समेत युएईको ब्याटिंग कोच थिए ।

सन् २०१८ मा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली क्रिकेट टिमले देसाईलाई नै ब्याटिंग प्रशिक्षकको जिमेवारी दिन चाहेको थियो । तर क्यान निलम्बनमा रहेको अवस्थामा राखेपले ६ महिनाको लागि मात्र आफुहरुले जिम्मेवारी दिने बताएपछि उनको स्थानमा भारतका पुर्व प्रथम श्रेणीका क्रिकेटर सुलक्षण कुल्कर्नी आएका थिए । तत्कालिन प्रशिक्षक जगत टमाटालाई आधार मान्ने हो भने देसाईले नेपाली टिमसंग १ वा २ बर्षको ठुलो सहकार्य गर्न चाहन्थे । र सायद वेस्ट इन्डिजसंग उनले त्यो सहकार्य पाएका छन् ।

२०७६ मंसिर १९, बिहीबार मा प्रकाशित