साग : सावित्राको ह्याट्रिक सहित ठुलो किर्तिमान, नेपाल महिला फुटबलको फाइनलमा

लगातार दोश्रो जित सहित नेपाली महिला फुटबल टिम दक्षिण एसियाली खेलकुद ( साग ) को महिला फुटबल अन्तर्गत फाइनल प्रवेश गरेको छ।

पोखरामा जारि महिला फुटबल अन्तर्गत फाइनल प्रवेश गर्ने क्रममा नेपालले माल्दिभ्सलाई ३-० ले पराजित गरेको हो। नेपालको जितमा सावित्रा भण्डारीले उत्कृस्ट प्रदर्शन गर्ने क्रममा ह्याट्रिक गरिन्। खेलको १८ औं, २२ औं र इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै सावित्राले ह्याट्रिक पुरा गरेकी थिईन्।

नेपालले अब स्वर्ण पदकको लागि भारतसंग खेल्नेछ। लगातार तेश्रो सागमा नेपालले भारतसंग स्वर्ण पदकको लागि खेल्ने भएको छ। सन् २०१० र २०१६ मा फाइनलमा नेपाली टिम पराजित भएको थियो।

नेपालले अब आगामी खेल भारतसंग शनिवार खेल्नेछ। नेपालले यस अघि पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो।

सावित्राको किर्तिमान 

सावित्र भण्डारीले नेपाली राष्ट्रिय टिमको लागि सर्वाधिक गोल गर्ने किर्तिमान आफ्नो नाम गरेकी छिन्। माल्दिभ्स बिरुद्ध पहिलो गोल गरेसंगै सावित्राले अनु लामाको ३५ गोलको रेकर्ड तोडेकी हुन्।

Sabitra Bhandari

सावित्राको गोल संख्या अब ३८ पुगेको छ। नेपाली पुरुष फुटबल टिमको लागि सर्वाधिक गोल गर्ने खेलाडी हरि खड्का र निराजन रायमाझी हुन् जसको नाममा १३ गोल रहेको छ।

माल्दिभ्स – नेपाल बीच खेलको फोटोहरु 

२०७६ मंसिर १९, बिहीबार मा प्रकाशित