‘अवसर हामीले अर्को खेलमा इन्डियाका लागि साँचेर राखेका हौं,’ – प्रशिक्षक हरि खड्का

१३ औं दक्षिण एसियाली अन्तर्गत पोखरामा भइरहेको महिला फुटबल खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरिन् र टोलीलाई सहज जित दिलाइन् ।

साम्बाले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएकी थिइन् । उनले निता बस्नेतको पासमा हेड गोल गरेकी हुन् । लगत्तै २० औं मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारिन् । खेलमा नेपालले माल्दिभ्समाथि एकलौटी दबाब राख्न सफल भएको थियो । तर, पाएको अवसरलाई सद’पयोग गर्न नसक्दा तेस्रो गोलका लागि अन्तिम समयसम्म पर्खिन पर्यो ।

खेलको पहिलो हापमा २–० ले पछि परेको माल्दिभ्सले दोस्रो हापमा पनि राम्रो सुरुवात गर्न सकेन । तर, नेपालले पनि मौकाको फाइदा उठाउन सकेन । खेलको अतिरिक्त समयमा भने नेपालकै सावित्रा भण्डारीले तस्रो गोल गर्न गरिन् । अतिरिक्त समय ९१ औं मिनेटमा गरेको गोलसँगै जारी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेकी छिन् ।

Sabitra Bhandari

अतिरिक्त समयमा विपक्षी खेलाडीले साम्बालाई डिबक्स एरियाभित्र लडाएपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । नेपालकी स्ट्राइकर भण्डारीले उक्त मौका छाडिनन्, र बललाई जाली चुमाइन् । योसँगै माल्दिभ्सले जारी प्रतियोगितामा दोस्रो हार व्यहोेरेको छ । यसअघिको खेलमा माल्दिभ्स भारतसँग ५–० ले स्तब्ध बनेको थियो ।

खेलपछि माल्दिभ्स राष्ट्रिय महिला प्रशिक्षक अहम्मद नासिदले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपाली टिम हामीभन्दा राम्रो छ भन्ने थाहा छ । तर, पनि हाम्रा खेलाडीले पनि उत्कृष्ट खेल देखाउन भने छाडेनन् ।’ उनीहरुले राम्रो रक्षात्मक खेल खेलेको प्रतिक्रिया दिए ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पहिलो हाफ सोचजस्तै भएपनि दोस्रो हाफमा केही कमजोरी देखिएको स्वीकारे । तर, फाइनलसम्म पुग्न ३ अंक चाहिएकाले त्यही अनुरुप नै खेलेको उनले बताए । ‘अवसर धेरै पायौं । तर, त्यो अवसर हामीले अर्को खेलमा इन्डियाका लागि साँचेर राखेका हौं,’ उनले भने ।

राउन्ड रोबिन आधारमा भएको खेलमा नेपाल र भारत ६/६ अंकसहित शीर्षस्थानमा छन् । श्रीलंका र माल्दिभ्स अंकविहीन छन् । शनिबार नेपाल र भारत समुह चरणको शीर्षस्थानका लागि सामना गर्नेछन् । त्यसबाट शीर्ष अंक प्राप्त गर्ने देशले २३ गते स्वर्ण पदकका लागि आम्नेसाम्ने हुनेछन् ।

भारत फाइनलमा

१३ औ दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा भारतले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालामा आज भएको पहिलो खेलमा श्रीलंकालाई ६–० गोलले हराउदै भारतले दोस्रो जित हात पारेको हो । भारतको जितमा एन रत्नाबाला देवि र सन्धिया आरले समान २/२ गोल गरिन भने डेङ्घमेल ग्रेन्स, रोजा देवीले समान १÷१ गोल गरेकी थिईन ।

यस अघि प्रतियोगितको पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो ।

भारतको जितमा डेङ्घमेल ग्रेन्सले खेलको ८ औ मिनेटमा गोल गर्दे भारतको लागि खाता खोलेकी थिईन । त्यस्तै खेलको १० औ मिनेटमा सन्धिया आरले अर्को गोल थप्दै गोल दोब्बर गराएकी थिईन । एन रत्नाबालाले श्रीलंकाको डिबक्स भित्र दिएको सट पासलाई सदुपयोग गर्दे सन्धिया आरले बललाई जाली चुमाएकी हुन ।

खेलको शुरुवात देखि नै श्रीलंका माथि हावी भएको भारतीय टीमले गोलको बर्षा नै गराएको थियो । भारतको लागि तेस्रो गोल एन रत्नाबाला देवीले १९ औ मिनेट र चोथौ गोल सन्धिया आर गरिन् ।

खेलको दोस्रो हाफमा श्रीलंका खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सफल भएन ।

दोस्रो हाफको ४३ औ मिनेटमा भारतका खेलाडी ए रोजा देवीले ५ औ गोल गर्दे श्रीलंकाको जित्ने झिनो आशालाई समाप्त पारेकी थिइन । त्यस्तै भारतको लागि अन्तिम गोल दोस्रो हाफको ४६ औ मिनेटमा एन जी बाला देवीले गोल गरेकी थिईन ।

दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटबलमा श्रीलंकाले अहिलेसम्म हराउन सकेको छैन् । श्रीलंकालाई खेल अवधिभर दबाबमा राखेको भारतले पहिलो हाफमा नै ४ गोल गरेर जितको संकेत दिएका थिए ।

भारतसँग ६ गोलको फराकिलो हारपछि श्रीलंकन टोलीले रक्षात्मक पंक्तिमा कमजोरी भएको स्वीकारेको छ । ‘नेपालसँगको खेलमा हाम्रो प्रस्तुति उत्कृष्ट थियो,’ श्रीलंका महिला फुटबल टोलीकी रोहन ठिलक अल्फान्सुले भनिन्, ‘तर आजको खेलमा हाम्रा खेलाडी पनि घाइते थिए । गोल रक्षक परिवर्तन गर्नुप¥यो ।’ उनले भारत समूहकै राम्रो देश भएकाले पनि जित्न कठिन भएको बताइन् ।

अल्फान्सुले भारतभन्दा श्रीलंका राम्रो खेलेको दाबीसमेत गरेकी छिन् । उनले भनिन्, ‘भारत आफैंमा राम्रो टिम हो । तर, हाम्रा खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलाडी घाइते नभएको भए खेलमा सुधार गर्न सक्थ्यौं ।’

भारतीय टिम प्रशिक्षक म्यामल रक्कीले आफ्ना खेलाडीको खेलबाट सन्तुष्ट रहेको बताएकी छिन् । ‘आजको खेलमा खेलाडीले निक्कै राम्रो प्रदर्शन गरे । सोचेकै रणनीतिअनुसार खेल भयो,’ उनले भनिन्, ‘अब नेपालसँग खेल्न पनि हामी तयार छौं ।

भारतले अब मंसिर २१ गते आयोजक नेपालसंग खेल्नेछ । राउण्ड रोबिन लिग प्रणाली अन्र्तगत खेलाईएको प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

२०७६ मंसिर १९, बिहीबार मा प्रकाशित