वेस्टइन्डिजको भारत टुर अन्तर्गत तिन वटा टि-२० को सिरिज मध्ये पहिलो टि-२० मा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ।
हैदराबादको राजिभ गान्धी स्टेडियममा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल योगफल भारतले ४ विकेट गुमाएर १८.४ ओभरमा पुरा गरेको हो।
लक्ष्य पछ्याउने क्रममा ओपनर रोहित शर्मा मात्र ८ रन बनाएर आउट भए पछि केएल राहुल र कप्तान बिराट कोहलीले दोश्रो विकेटको लागि १०० रनको साझेदारी गरेका थिए। १४ औं ओभरमा राहुल ६२ रन बनाएर आउट भए जसले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। रोहित र राहुल दुवैलै खरे पीएरेले क्याच आउट गराए।
राहुलको विकेटपछि कोहली र रिशभ पन्तले तेश्रो विकेटको लागि ५८ रन जोडे। पन्त ९ बलमा २ छक्का मदतले १८ रन बनाएर १७ औं ओभरमा आउट भए। उनलाई कटरेलले क्याच आउट गराए। त्यसपछि श्रेयस ऐयर ४ रन बनाएर आउट भए।
कोहलीले त्यसपछि आफ्नो इनिंगलाई अघि बढाउदै भारतलाई जितसम्म पुर्याए। कोहलीले ५० बलमा ६ चौका र ६ छक्का मदतले ९४ रन बनाए।
वेस्टइन्डिजको विशाल योगफल
यस अघि टस हारेर पहिले ब्याटिंग गर्दै वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २०७ रन बनाएको थियो।
विन्डीजको लागि शिमरन हेटमायरले सर्वाधिक ५६ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे। ओपनर इभिन लुइसले ४०, कप्तान काइरन पोलार्डले ३७ तथा ब्राण्डन किंगले ३१ रन बनाए। लुइसले १७ बलमा ३ चौका र ४ छक्का तथा पोलार्डले १९ बलमा ४ छक्का र १ चौका प्रहार गरे। जेसन होल्डरले ९ बलमा २ छक्का र १ चौका मदतले २५ रन बनाए। हेटमायर र पोलार्डले चौथो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए।
भारतको बालिगमा युझभेन्द्र चाहलले २ तथा वाशिंगटन सुन्दर, दिपक चाहर र रभिंद्र जडेजाले समान १/१ विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो टि-२० डिसेम्बर ८ तथा तेश्रो टि-२० डिसेम्बर ११ तारिकमा खेलिनेछ। टि-२० सिरिज पछि डिसेम्बर १५ बाट ३ वटा एकदिवसीयको सिरिज सुरु हुनेछ।