पारसको उत्कृस्ट बलिंग, नज्मुल हुसेनले उत्कृस्ट ब्याटिंग गर्दा नेपाललाई १५६ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले लिग चरणको चौथो तथा आफ्नो अन्तिम खेलमा बंगलादेश प्रतिस्पर्धा गरिरहेको छ। आजको खेलमा जित हात पारेमा नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ।

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको छ।

पहिलो ३ विकेट बंगलादेशले १६ रनको योगफलमा चौथो ओभरमा गुमाएको थियो। पारस खड्काले सबै ३ विकेट दिलाएपछि बंगलादेश दबाबमा आएको थियो। तर त्यसपछि कप्तान नज्मुल हुसेनले एक किनार सम्हाल्दै ब्याटिंग गरे।

नज्मुलले चौथो विकेटको लागि यासिर अलिसंग ४३ रनको साझेदारी गरे। यासिर १४ रन बनाएर आउट भएपछि नज्मुलले अफिफ हुसेनसंग चौथो विकेटको लागि ९४ रनको साझेदारी गरे। अफिफ ५२ रन बनाएर आउट भए जसले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

अविजित इनिंग खेल्ने क्रममा नज्मुल हुसेनले ६० बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

नेपालको बलिंगमा पारस खड्काले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। दिपेन्द्र ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए।

२०७६ मंसिर २१, शनिबार मा प्रकाशित