स्वर्ण पदको लागि नेपालले भुटानसंग खेल्ने, बंगलादेश पराजित

१३ औं दक्षिण एसियाली खेलकुद नेपाल पुरुष फुटबलको फाइनल पुगेको छ। नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै  स्वर्ण पदकको लागि भुटानसंगको भेट पक्का गरेको हो।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलको ११ औं मिनेटमा सुनिल बलले गरेको गोलनै खेलमा निर्णायक बन्न पुग्यो। सुजल श्रेष्ठले दिएको पासलाई सुनिलले गोल गरे।

जितपछि नेपालले ४ खेल खेल्दा १० अंक बटुल्यो। भुटानको ९ अंक रहेको छ। नेपाल र भुटानले अब मङ्सिर २४ गते मंगलबार स्वर्ण पदकको लागि खेल्नेछ।

समुह चरणमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो

नेपाल लगातार दोश्रो पटक दक्षिण एसियाली खेलकुदको फाइनलमा पुगेको हो। यस अघि १२ औं सागमा भारतमा नेपालले भारतीय टिमलाई पराजित गर्दै उपाधि जितेको थियो।

नेपालले समुह चरणमा भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोश्रो खेलमा श्रीलंकासंग १-१ को बराबरी खेलेको थियो। यस्तै तेश्रो खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो।

साग पुरुष फुटबलमा नेपाल सहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाएका छन्।

२०७६ मंसिर २२, आईतवार मा प्रकाशित