काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन्।
सातदोबाटोस्थित पौडी पोखरीमा भएको पौडी अन्तरर्गत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरेसँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
इतिहास रच्ने क्रममा गौरिकाले भारतीय खेलाडी सिवांगी सिंह ( ४ मिनेट २६.२२ सेकेन्ड ) तथा श्रीलंकाकी रामुदी नुदारा ( ४ मिनेट ४१.९१ सेकेन्ड ) लाई पछि पारिन्।
उनले २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन्। सागमा सबै भन्दा धेरै स्वर्ण जित्ने नेपाली खेलाडी दिपक बिस्ट हुन् जसले कुल ४ स्वर्ण पदक आफ्नो नाम गरेका छन्।
शनिबारै सम्पन्न ४ सय मिटर पुरुष फ्रि–स्टाईलमा भारतका कुशग्रा रावतल र आनन्द अनिल कुमारले क्रमश स्वर्ण र रजत पदक जित्दा बंगलादेशका फइजल अहम्मेले भने कास्य पदक जिते । पुरुष २ सय मिटर बटरफ्लाईमा भारतका सुप्रिया मन्डोलाले स्वर्ण, श्रीलंकाका सन्देभ सा सेनेरेट्टाले कास्य पदक जिते ।
महिला २ सय मिटर बटरफ्लाईमा ड्वाना लामाले नेपालका लागि रजत पदक दिलाइन् । स्वर्ण पदक भारतकी अपेक्षा देल्यालले जित्दा बंगलादेशकी जुनायान अहमेदले कास्य जितिन् ।
५० मिटर पुरुष ब्याक स्ट्रोकमा श्रीहरी नटराजले स्वर्ण भारतलाई दिलाउँदा श्रीलंकका दिमु पेरेसले रजत र एस डे सिल्भा कास्य पदक जिते । महिला ५० सर्ट कोर्श ब्याक स्ट्रोकमा नेपालकी गौरिका सिंहले रजत पदक जित्दा मन्ना राजिभ पटेलले भारतका लागि स्वर्ण र भारतकै रिधिमा विरेन्द्रकुमारले कास्य पदक जिते ।
यस्तै ८ सय मिटर फ्रि–स्टाईल महिला रिलेमा भारतले स्वर्ण थप्दा श्रीलंकाकाले रजत र नेपालले कास्य पदकमा चित्त बुझायो । ८ सय मिटर फ्रि–स्टाई पुरुषको नतिजा भने सोमबार मात्र सार्वजनिक हुने नेपाल पौडि संघले जनाएको छ ।