महिला फुटबलमा नेपाल फेरी रजत पदकमा सिमित

१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको महिला फुटबलमा नेपाल रजत पदकमा सिमित बनेको छ। आज सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको हो। भारतले भने स्वर्ण पदक जित्यो।

पोखरा स्थित रंगशालामा सम्पन्न खेलमा नेपाल २ – ० गोल अन्तरले पराजित भयो। भारतलाई जिताउन बाला देबीले २ गोल गरिन्। १७ मिनेटमा उनको गोलबाट अग्रता लिएको भारतले खेलभर नेपाललाई दबाबमा राख्यो।

त्यसपछि दोश्रो हाफको सुरुवाती समयमा नै नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारीले प्रहार गरेको बललाई भारतीय गोल रक्षकले उत्कृस्ट बचाउन गरिन्। त्यस लगत्तै बाला देबिले नै व्यक्तिगत दोश्रो गोल गर्दै भारतलाई स्वर्ण नजिक पुर्याईन। उनले ५७ औं मिनेटमा गोल गरेकी थिइन्। त्यसपछि थप गोल हुन सकेन।

यसअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको महिला फुटबलमा समेत नेपाल फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा सिमित बनेको थियो।

२०७६ मंसिर २३, सोमबार मा प्रकाशित