काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।
पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै नेपालको स्वर्णपदक सपना तुहिएको थियो। यसवर्षमात्रै नेपालले गुमाएको यो तेस्रो फाइनलमा थियो। सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा स्ट्राइकर एनजि बाला देवीले दुवै गोल गरेकी थिईन । उपाधि जिताउन एनजि बाला देवीले नायकत्व प्रर्दशन गरिन । उनले खेलको १८ औ मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
हारलगत्तै प्रशिक्षक खड्काले राजीनामा घोषणा गर्दै भने, ‘हारको सम्पूर्ण जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु। प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहनेछु।’ खड्काको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो ।

फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको तर भारतले पाएको दुबै अवसरमा गोल गरेको उनले सुनाए । ‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो । अर्को गोल पनि हाम्रै कमजोरीमा भयो’ उनले भने ।