साग : बास्केटबलमा नेपाली महिला टिमलाई रजत

सागअन्तर्गत बास्केटबलको महिलामा नेपालले रजत जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित गर्यो ।

भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको भारतले २५–७, ३३–१४, ४४–९ र २५–१६ को प्रदर्शन गर्यो । माल्दिभ्सले भुटानलाई ८३–४६ ले हराउदै तेश्रो भयो । माल्दिभ्सकी रिश्माले २९ अंक बटुलिन् ।

पुरुष फाइनलमा भारतले श्रीलंकामाथि १०१–६२ को जित दर्ता गर्यो । विजेताका विशेष भ्रिगुवन्सीले १७ स्कोर गरे । सुरुका तीन क्वाटरमा अग्रता लिएको भारतले पहिलोमा २६–१४, दोश्रोमा २५–१० र तेश्रोमा २८–२७ अंक जोड्यो । चौथोमा श्रीलंकाले २७–२२ को अग्रता लिएको थियो ।

तेश्रो स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशलाई ८१–५९ ले पाखा लगायो । नेपालका अशिम श्रेष्ठले १९ अंक जोडे । नेपालले पहिलोमा २४–११, दोश्रोमा २२–११, तेश्रोमा १४–२३ र चौथोमा २१–१४ अंक जोड्यो ।

यसअघि सोमबार सम्पन्न थ्री बाइ थ्री बास्केटबलको पुरुषमा भारत पहिलो, नेपाल दोश्रो र श्रीलंका तेश्रो भएका थिए । महिलामा भारतले स्वर्ण, श्रीलंकाले रजत तथा नेपालले कांस्य जितेका थिए ।

२०७६ मंसिर २४, मंगलवार मा प्रकाशित