सप्तरी क्रिकेट संघको क्यालेन्डर सार्वजनिक, एसपीएल तेश्रो सिजन मार्च अन्तिममा

सप्तरी क्रिकेट संघले सन् २०२० को सुरुवाती सिजनको लागि आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाली क्रिकेटमै जिल्ला क्रिकेट संघले यस्तो थालनी गरेको यो दोश्रो पटक हो। यस अघि रुपन्देही क्रिकेट संघले यसै वर्ष आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो।

शुक्रबार सार्वजनिक गरिएको क्यालेन्डरमा जनवरी देखि मार्च महिनाको कार्यक्रमहरु समावेस गरिएको छ। प्रतियोगिता तथा विभिन्न गतिविधिहरुको मिति, स्थान, आयोजक, आयोजना स्थल तथा कार्यक्रमको लागि आवस्यक बजेट समेत संघले क्यालेन्डरमा समावेस गरेको छ।

क्यालेन्डर अनुसार जनवरी ९ तारिकमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता आयोजना हुने छ। ग्रिन नेपालले आयोजना गर्ने प्रतियोगिताको बजेट १ लाख ६५ हजार रहेको छ। यस्तै जनवरी २४ देखि अन्तर नगरपालिका क्रिकेट प्रतियोगिताको आयोजना हुनेछ।

यस्तै फेब्रुवरी महिनाको तेश्रो साता सबल नेपालको आयोजनामा सप्तरी महिला प्रिमियर लिगको आयोजना हुनेछ भने वार्ड स्तरीय प्रतियोगिता पनि आयोजना हुनेछ। फेब्रुअरीकै अन्तिममा डाक्नेश्वरी युथको आयोजनामा बन्द सत्र तथा नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुनेछ। मार्च महिनामा सप्तरी क्रिकेटसंघले नगरपालिका स्तरीय, कलेज स्तरीय प्रतियोगिता तथा क्रिकेट प्रशिक्षण तथा सामग्री वितरण कार्यक्रम समेत गर्नेछ। यस्तै मार्च दोश्रो साता अम्पायर र स्कोरर तालिम समेत राखिएको छ।

मार्चको अन्तिममा सप्तरी क्रिकेट संघको सबैभन्दा ठुलो आयोजना सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण समेत आयोजना हुनेछ।

क्यालेन्डर सार्वजनिक गरेपछि सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले सप्तरी क्रिकेट संघले सबैको सहकार्यमा क्यालेन्डर सार्वजनिक गरेको बताए –

“सबैसंग सहकार्य गरेर, मिति तथा बजेट सहित कार्यक्रम सार्वजनिक गरेका छौँ।” साथै श्रेष्ठले सप्तरीको सम्पूर्ण ठाउँमा क्रिकेट पुर्याउने प्रयास गरिएको बताए –  “सप्तरीको सबै स्थानमा क्रिकेट पुर्याएका छौँ। महिला क्रिकेटलाइ प्राथमिकतामा राखेका छौँ।”

अध्यक्ष आयुष श्रेष्ठ

३ महिनाको अवधिमा आयोजना हुने १३ वटा कार्यक्रममा सप्तरी क्रिकेट संघ बाहेक ग्रिन नेपाल, तिलाठी कोइलाड़ी, लायन्स क्रिकेट एकेडेमी, सबल नेपाल, डाक्नेश्वरी युथ, अम्पायर एसोसीएसन सप्तरी जस्ता आयोजकहरु रहेका छन्।

१३ वटा कार्यक्रमको लागि कुल बजेट ८१ लाख ३४ हजार रहेको छ। त्यसमध्ये सबैभन्दा धेरै सप्तरी प्रिमियर लिगको लागि २४ लाख ५० हजार र सप्तरी महिला प्रिमियर लिगको लागि १४ लाख ५० हजार बजेट रहेको छ।

२०७६ पुष १९, शनिबार मा प्रकाशित