पुष्प थापाको अर्धशतकमा प्रदेश-१ ले बनायो १४४ रन, नन्दनको ४ विकेट

सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन समुह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा प्रदेश-१ र प्रदेश-३ प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा विजेता हुने टिम सेमीफाइनलको लागि छनौट हुनेछ।

वर्षाको कारण आउटफिल्ड भिजेकाले ढिला सुरु भएको खेल २८ ओभरमा छोट्याईएको छ। टस हारेर पहिले ब्याटिंग गरेको प्रदेश-१ ले  २८ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाउदै प्रदेश-३ लाई १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रदेश-१ को ब्याटिंगमा कप्तान पुष्प थापाले सर्वाधिक ५० रन बनाए। प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने क्रममा थापाले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै मिनास थापाले २०, फिर्दोश अन्सारीले १८ तथा राज थापाले १० रन बनाए।

Puspa Thapa

प्रदेश-३ को बलिंगमा तिब्र गति बलर नन्दन यादबले ४ विकेट लिए जुन क्रममा ६ ओभरमा २२ रन खर्चिए। यस्तै रामनरेश गिरिले २ विकेट तथा प्रतिस जिसी, इशान पाण्डे र जितेन्द्र सिंह ठकुरीले समान १/१ विकेट लिए।

प्रदेश-१ ले आफ्नो पहिलो खेलमा प्रदेश-५ लाई पराजित गरेको थियो भने प्रदेश-३ र प्रदेश-५ बीचको खेल बराबरीमा टुंगिएको थियो। प्रदेश-५ प्रतियोगिताबाट बाहिरीसकेको छ भने आज जित्ने टिम समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।

२०७६ पुष १९, शनिबार मा प्रकाशित