एमएम कप : एपीएफ बिरुद्ध कुशल मल्लको विस्फोटक शतक, आर्मीले बनायो २८१

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको खेलमा आइतबार दुइ विभागीय टोलिहरु एपीएफ र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

इनरुवा क्रिकेट मैदानमा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको आर्मीले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २८१ रनको योगफल तयार गर्दै एपीएफलाई २८२ रनको लक्ष्य।

आर्मीको लागि राष्ट्रिय क्रिकेटर कुशल मल्लले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा १११ रन बनाए। उनले ६३ बलमा १३ छक्का र ५ चौका प्रहार गरे।  यस क्रममा उनले मात्र ५३ बलमा शतक पुरा गरेका थिए।

Kushal Malla

आर्मीले पहिलो २ विकेट ३८ रनमै गुमाउन पुगेको थियो। राजु रिजाल ९ तथा हरि बहादुर चौहान खाता नखोली आउट भए। तेश्रो विकेटको लागि ओपनर अनिल मण्डलले चौथो नम्बरका कुशल मल्लसंग ८५ रनको साझेदारी गरे। मण्डल ८८ बलमा ४ चौका मदतले ४१ रन बनाएर आउट भए। २७ औं ओभरमा अमर सिंह रौटेलाले उनलाई क्याच आउट गराएका थिए।

चौथो विकेटको लागि कुशलले रोहित पौडेलसंग ७२ रनको साझेदारी गरे। ३४ औं ओभरमा कुशललाई प्रदिप ऐरीले बोल्ड गर्दै एपीएफलाई खेलमा फर्काए। त्यस पछि कप्तान बिनोद भण्डारीलाई ७ रन तथा भिम शार्कीलाई ८ रनमा बसन्त रेग्मीले पेभेलियन फर्काए।

Basant Regmi

आठौँ नम्बरमा ब्याटिंग गरेका राजेश पुलामी र दशौँ नम्बरका बिक्रम सोबले आठौँ विकेटको लागि ३७ रनको साझेदारी गर्दै टिमलाई ठुलो योगफल तिर डोर्याए। सोबले १४ रन बनाए। पुलामी अन्तिम विकेटको रुपमा पेभेलियन फर्किनु अघि ३८ रन बनाए। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

एपीएफको बलिंगमा कप्तान बसन्त रेग्मीले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन गर्दै ५४ रन खर्चिए। अमर सिंह रौटेलाले २ विकेट लिए भने अविनाश बोहरा, सुर्य तामांग र प्रदिप ऐरीले समान १/१ विकेट लिए।

२०७६ पुष २०, आईतवार मा प्रकाशित