सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को दोश्रो खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाले प्रतिस्पर्धा गरिरहेका छन्।
इनरुवा क्रिकेट मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको एपीएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको छ।
पहिलो ओभरमै ओपनर प्रज्वल शाहीलाई सोनु मण्डल ले खाता नखोल्दै क्याच आउट गराएपछि एपीएफले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। प्रदिप ऐरी १९ रन, शंकर राना ३६ रन, पृथु बास्कोटा ५ रन, सन्दिप जोरा र बसन्त रेग्मी समान १२ रन बनाएर आउट भए।

अर्को किनारमा विकेट गुमेता पनि चौथो नम्बरमा ब्याटिंग गरेका सुमित महर्जनले एक किनार सम्हालीरहे। १३२ रनमा ६ विकेट गुमेको अवस्थामा सुमितले अमर सिंह रौटेलाले सातौँ विकेटको लागि ४५ रनको साझेदारी गरे। रौटेला ३८ औं ओभरमा ९ रन बनाएर आउट भए। लगत्तै इर्शाद एहमद ३ रन बनाएर आउट भए।
शतक प्रयास गरेका सुमित ४२ औं ओभरमा अल्फाज मन्सुरीको बलमा क्याच आउट भए। उनले १०७ बलमा ७ चौका मदतले ८३ रन बनाए।

इनरुवाको बलिंगमा अफ स्पिनर सरोज बस्नेतले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन ओभर गर्दै ३९ रन खर्चिए। यस्तै भुपाल लुइँटेल ( ८-०-३३-२ ), सोनु मण्डल ( ७.४-०-३३-२ ) र अल्फाज मन्सुरी ( ५-०-१८-२ ) ले समान २/२ विकेट लिए।
एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग १०८ रनको हार बेहोरेको थियो।
प्रतियोगिता अन्तर्गत समुह ‘सी’ बाट प्रदेश नम्बर-३ सेमीफाइनल प्रवेश गरिसकेको छ।