सन्दिप जोरालाई १ खेलको प्रतिबन्ध

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न एपीएफ र एमएमसीसी इनरुवा बीचको खेलको दौरान अम्पायरको निर्णय प्रति गम्भीर तरिकाले असहमति देखाउदा सन्दिप जोरालाई कारवाही गरिएको छ।

एपीएफका ब्याट्सम्यान सन्दिपले खेलाडी कोड अफ कन्डक्ट उल्लंघन गरेका कारण उनलाई आर्टिकल २.८ अन्तर्गत एउटा खेलको प्रतिबन्ध लगाईएको छ। जोराले एमएम कप प्रतियोगिता अन्तर्गत आगामी खेल खेल्न पाउने छैनन्। खेलपछि जोराले म्याच रेफ्रीसंग आफ्नो गल्ति स्विकारीसकेका छन्।

खेलको २३ औं ओभरमा सरोज बस्नेतबाट एलबिडब्लु आउट भए पछि जोराले अम्पायरको निर्णय प्रति असन्तुष्टि देखाउदै मैदानमा विवाद गर्न खोजेका थिए। उनि २१ बलमा १२ रन बनाएर आउट भएका थिए।

नेपाली राष्ट्रिय टिमको लागि खेलीसकेका जोरा पछिल्लो समय राम्रो लयमा देखिएका छैनन्। एमएम कपकै अघिल्लो खेलमा आर्मीसंग पराजित हुँदा उनले २३ रन बनाएका थिए। यस्तै भर्खरै सम्पन्न पिपिएलमा पनि उनको प्रदर्शन खास रहन सकेको थिएन।

२०७६ पुष २१, सोमबार मा प्रकाशित