रुपन्देही सुपर लिग : बुद्ध स्पोर्टस विजयी

रबिन्द्र प्रताप गुप्ता, भैरहवा, २५ पुस ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा शुक्रबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलो दिनमा डिभिजन (बी) अन्तर्गत भएको खेलमा बुद्ध स्पोटर्स क्लब भैरहवा विजयी भएको छ । बुद्धले मतखोलवा स्पोर्टस क्लबलाई ३९ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रनको योगफल बनायो । उसका लागि विपिन खत्रीले ४३, अखिलेश यादवले ३० र समिर हुसेनले २४ रनको योगदान गरे । बलिङमा मतखोलवाका मोहम्मद रफिकले २, अरुण चौधरी र शरद रायले १/१ विकेट लिए ।

जवाफमा मतखोलवाले २० ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनायो । उसका लागि मुन्नीराम चौधरीले ३० र विके मिश्राले ९ रनको योगदान गरे । त्यस्तै बलिङमा बुद्धका रुपेश कुर्मीले ३, रिजन प्रजु र अजय त्रिपाठीले २/२ र विपिन खत्रीले १ विकेट लिए ।

खेलमा बुद्ध स्पार्टस क्लबका विपिन खत्री म्यान अफ द म्याच घोषित भए । शनिबार बुटवल युथ स्पोटर्स बुटवल र ज्ञानोदय क्रिकेट क्लब करहिया बीच हुनेछ ।

‘बी’ डिभिजका खेल ४० ओभरको हुने भए पनि मौसम खरावीका कारण खेल सुरु हुन ढिलो भएपछि २० पहिलो दिन ओभरको खेल भएको आयोजकले जनाएका छन् ।

नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५÷५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् । क्रिकेट प्रतियोगितामा डिभिजन ए का ८ र बि का १२ गरी २० टिम सहभागि हुनेछन् ।

प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बीच प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले गरेका थिए । सो अवसरमा बोल्दै सांसद पाण्डेयले क्रिकेट खेलकै कारण रुपन्देहीले नेपाललाई विश्वमै चिनाउने काम गरेको बताए । उनले खेलकुद क्षेत्रलाई राज्यले अझ प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

२०७६ पुष २५, शुक्रबार मा प्रकाशित