एमएम कप उपाधिको लागि आर्मी र पुलिस खेल्दै

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि शनिवार दुइ विभागीय टोलिहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको त्रिभुवन आर्मी क्लबले पहिलो सेमीफाइनलमा बागमती प्रदेशलाई ६४ रनले पराजित गरेको थियो। यस्तै नेपाल पुलिस क्लबले सुदुर पश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै फाइनलमा आर्मीसंगको भेट पक्का गरेको हो।

प्रतियोगिताको पहिलो संस्करणको गत वर्ष उपाधि जित्दा आर्मीले पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै उपाधि जितेको थियो।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको आर्मी र पुलिस उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। आर्मीसंग गत संस्करणको हारको बदला लिने उद्देश्य पुलिसको हुनेछ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश-१ ले आयोजना गरेको प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ तथा उप विजेताले २ लाख ५ हजार प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१ हजार प्राप्त गर्नेछन्।

२०७६ माघ ४, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment