दोश्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका छन्।
सुनसरी स्थित इनरुवा रंगशालामा जारि खेलमा टस हारेर ब्याटिंग गरेको आर्मीले ४८.५ ओभरमा १८४ रनमा सबै विकेट गुमाएर पुलिसलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड
खराब सुरुवात गरेको आर्मीले २४ औं ओभरमा पहिलो ६ विकेट ९५ रन बनाउदा गुमाईसकेको थियो। ओपनर राजु रिजाल २२, अनिल मण्डल ५, भिम शार्की ७, रोहित पौडेल ११, कुशल मल्ल १३ तथा हरि बहादुर चौहान ३ रन बनाएर आउट भए।

त्यसपछि कप्तान बिनोद भण्डारीले जिम्मेवार इनिंग खेल्दै मुस्किल अवस्थाबाट जोगाएका थिए। यस क्रममा भण्डारीले राजेश पुलामीसंग २१ रनको तथा बिक्रम सोबसंग ५३ रनको साझेदारी गरे। राजेश पुलामी ३१ रन बनाएर सागर ढकाल बाट क्याच आउट भए। ४४ औं ओभरमा बिक्रम सोबलाई दिपेन्द्र ऐरीले एलबिडब्लु आउट गर्दै पुलिसलाई खेलमा फर्काएका थिए। लगत्तै भण्डारी पनि पवन सर्राफको बलमा क्याच आउट हुन पुगे। ६६ बलमा ४ चौका मदतले बिनोदले ४० रन बनाए।
पुलिसको बलिंगमा देब्रे हाते स्पिनरद्वय ललित राजबंशी र सागर ढकाल तथा अफ स्पिनर दिपेन्द्र ऐरी समान ३ विकेट लिए। ढकालले १० ओभरमा २९ , राजबंशीले १० ओभरमा ३२ रन तथा ऐरीले ९.५ ओभरमा २७ रन खर्चिए।

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश-१ ले आयोजना गरेको प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ तथा उप विजेताले २ लाख ५ हजार प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको त्रिभुवन आर्मी क्लबले पहिलो सेमीफाइनलमा बागमती प्रदेशलाई ६४ रनले पराजित गरेको थियो। यस्तै नेपाल पुलिस क्लबले सुदुर पश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै फाइनलमा आर्मीसंगको भेट पक्का गरेको हो।
प्रतियोगिताको पहिलो संस्करणको गत वर्ष उपाधि जित्दा आर्मीले पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै उपाधि जितेको थियो।
