नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले लगातार दोश्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाईनै पराजित गरेर उपाधि जितेको थियो।
सुनसरीको इनरुवामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मीले उपाधि आफ्नो पक्षमा पारेको हो। स्कोरकार्ड
उपाधिसंगै आर्मीले ४ लाख ५ हजार रुपैयाँ तथा उप विजेता पुलिसले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी आर्मीका देब्रे हाते स्पिनर सुशन भारि चुनिए जसले ५५ हजार रुपैयाँ हात पारे। यस्तै प्रतियोगिताको उत्कृस्ट बलर सुदुरपश्चिमका बिनोद लामा तथा उत्कृस्ट ब्याट्सम्यान त्रिभुवन आर्मी क्लबका कुशल मल्ल चुनिए। उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ प्राप्त गरे। यस्तै फाइनल खेलको प्लेयर अफ द म्याच समेत आर्मीका सुशन भारि चुनिए।

इनरुवा रंगशालामा सम्पन्न खेलमा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा ९९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन, अमित श्रेष्ठले २३ रन तथा अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसलाई सानो योगफलमा समेट्न आर्मीका देब्रे हाते स्पिनर सुशन भारिले ४ विकेट लिए। ६ ओभरमा भारिले २४ रन खर्चिए। यस्तै अर्का देब्रे हाते स्पिनर शाहब आलमले ३ विकेट लिए जुन क्रममा ६.४ ओभरमा १ मेडन ओभर गर्दै ३३ रन खर्चिए। कुशल मल्लले २ विकेट तथा बिक्रम सोबले १ विकेट लिए।
यस अघि खेलमा टस हारेर ब्याटिंग गरेको आर्मीले ४८.५ ओभरमा १८४ रनमा सबै विकेट गुमाएको थियो।

खराब सुरुवात गरेको आर्मीले २४ औं ओभरमा पहिलो ६ विकेट ९५ रन बनाउदा गुमाईसकेको थियो। ओपनर राजु रिजाल २२, अनिल मण्डल ५, भिम शार्की ७, रोहित पौडेल ११, कुशल मल्ल १३ तथा हरि बहादुर चौहान ३ रन बनाएर आउट भए।
त्यसपछि कप्तान बिनोद भण्डारीले जिम्मेवार इनिंग खेल्दै मुस्किल अवस्थाबाट जोगाएका थिए। यस क्रममा भण्डारीले राजेश पुलामीसंग २१ रनको तथा बिक्रम सोबसंग ५३ रनको साझेदारी गरे। राजेश पुलामी ३१ रन बनाएर सागर ढकाल बाट क्याच आउट भए। ४४ औं ओभरमा बिक्रम सोबलाई दिपेन्द्र ऐरीले एलबिडब्लु आउट गर्दै पुलिसलाई खेलमा फर्काएका थिए। लगत्तै भण्डारी पनि पवन सर्राफको बलमा क्याच आउट हुन पुगे। ६६ बलमा ४ चौका मदतले बिनोदले ४० रन बनाए।

पुलिसको बलिंगमा देब्रे हाते स्पिनरद्वय ललित राजबंशी र सागर ढकाल तथा अफ स्पिनर दिपेन्द्र ऐरी समान ३ विकेट लिए। ढकालले १० ओभरमा २९ , राजबंशीले १० ओभरमा ३२ रन तथा ऐरीले ९.५ ओभरमा २७ रन खर्चिए।
मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश-१ ले आयोजना गरेको प्रतियोगितामा सात वटा प्रदेश, तिन विभागीय , एक मलेसिया राष्ट्रिय टिम र एक आयोजक टोलि गरि कुल १२ टिमको सहभागिता रहेको थियो।
