पोखरा, आहा ! रारा ! गोल्ड कपको उपाधी विजेता टिमले १० लाख नगद पाउने भएको छ । यहि फागुन २२ गते बाट सुरु हुने प्रतियोगितामा एक भारतिय टिम सहित १० टिम सहभागिता जनाउने पक्का भएको आहा ! रारा ! गोल्ड कपको आयोजक सहारा क्लवले आज एक प्रेस सम्मेलन मार्फत जानकारी दिएको छ ।
आहा ! रारा ! गोल्ड कपको १८ औं संस्करणमा भारत सिक्किम राज्य गान्टोक सिटी फुटबल क्लवको टिम सहित रुसलान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदी क्लब, ब्रिगेड व्बाईज क्लब, नेपाल पुलिस क्लब, नेपाल ए. पि. एफ. क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब र आयोजक सहारा क्लब पोखराको सहभगिता रहने छ । १७ औं संस्करणको विजेता रुसलान थ्रिस्टार क्लब र उप विजेता त्रिभुवन आर्मी क्लब रहेको थियो ।
क्लवका अध्यक्ष केशव बहादुर थापाका अनुसार पुरस्कारको धनराशी वृद्धि गरि क्रमशः रु. १० लाख १ हजार उपविजेता हुनेलाई रु. ५ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ प्रक्षेपण क्लवले गरेकोछ । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने अध्यक्ष थापाले बताएका छन । हाल तेश्रो व्याचको एकेडेमीमा १५ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति सहारा क्लब पोखराले आयोजना गर्ने आहा ! रारा ! गोल्ड कप पोखराको पर्यावाचीको रुपमा लिने गरिएको छ । यस वर्ष समेत “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७६” बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने महासचिब रामजी प्रसाद अधिकारीले बताएका छन । सम्मानित खेलाडीलाई नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्ला प्रदान गरिने छ भने उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गले गरेका छन ।
प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । साथै दोश्रो पुरस्कार प्रायोजक हिमा–अस एजुकेशन कनसेल्टेन्सी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि. सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर लगाएत २ दर्जन भन्दा वढि संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानले प्रायोजन गरेका छन ।
साथै यस प्रतियोगिताको पाँच विधाका ट्रफि, म्यान अफ दि म्याच र नगद, अफिसियल ट्रफि प्रथम एवं द्वितिय पुरस्कार मेडलको प्रायोजन सहारा यू. के. ले प्रायोजन गरेकोछ । सहारा युकेका महासचिब धनु थकालीले युके बाट प्राप्त ट्रफीहरु क्लवका अध्यक्ष थापालाई हस्तान्तरण समेत गरेका छन ।
सो अवसरमा बोल्दै राखेपका सदस्य राजेश गुरुङले आहा ! रारा ! गोल्ड कपका समयमा रंगशाला वरपरका सवै ६ वटा गेटहरु खुल्ला गरिने बताए । दर्शकहरु आवत जावत गर्न सुविधाका लागि गेटहरु खुल्ला गरिने सदस्य गुरुङले जानकारी दिए । उनले शौचालय लगाएत अन्य सुविधाहरु दर्शकका लागि खुल्ला गरिएपनि तिनिहरुको संरक्षण र सरसफाइमा ध्यान दिन सहारालाई आग्रह गरे ।
तस्विरः सुदर्शन रञ्जित
