आँखामा चोट बोकेकी फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही

माेरङ । चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ । उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो ।

अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइपुर्‍याएका थिए । प्रतिष्ठानका चिकित्सकले आँखाको उपचार थाल्नुको सट्टा समीक्षालाई कोरोना भाइरसको आशङ्कामा आइसोलेसनमा राखेका थिए । हाल विराटनगरस्थित आँखा अस्पतालमा रहेका समीक्षामा बुबा दलबहादुरले फोनमा भने, “उदयपुरबाट आएको भन्ने थाहा पाएपछि आइसोलेसनमा राखे, उपचारतर्फ ध्यान दिएनन् ।चिकित्सकको लापरवाहीले छोरीको उपचारमा समस्या भयो ।”

चार दिनपछि चिकित्सकले उपचार हुन नसक्ने भन्दै विराटनगर आँखा अस्पताल लैजान उनलाई सल्लाह दिएका थिए । धरानका चिकित्सकले तीन दिनसम्म आइसोलेसनमा राखेकै कारण समीक्षाको उपचार गर्न कठिन बनेको छ ।

२०७७ बैशाख २७, शनिबार मा प्रकाशित