पाकिस्तानलाई बाहिर निकाल्न विश्वकपमा भारत इंग्ल्यान्डसंग जानजान हारेको पुर्व पाकिस्तान क्रिकेटरको दाबी

पाकिस्तान क्रिकेट टिमका पुर्व अलराउन्डर अब्दुल रज्जाकले आईसीसी एकदिवसीय विश्वकप २०१९ मा भारतले इंग्ल्यान्डसंगको लिग म्याचको खेल जानीजानी हारेकोमा आफुलाई कुनै शंका नरहेको बताएका छन्।

इंग्ल्याण्डलाई गत वर्ष एकदिवसीय विश्वकप जिताउन उत्कृस्ट योगदान दिएका बेन स्टोक्सले लेखेको अटोबायोग्राफी ‘अन फायर’ मा स्टोक्सले भारतले इंग्ल्यान्डसंगको समुह चरणको खेल कट्टर प्रतिद्वन्द्वी भएका कारण पाकिस्तानलाई अर्को चरण पुग्न नदिन जानाजान हारेको लेखेका छन्।

स्टोक्सले किताबमा यो प्रसंग उल्लेख गर्दै उक्त खेलमा धोनीले खेल जित्ने प्रयास नदेखाएको तथा रोहित शर्मा र बिराट कोहलीको साझेदारी पनि रहस्यमयी रहेको लेखेका छन्। पाकिस्तानलाई विश्वकपबाट बाहिर निकाल्न भारतले त्यस्तो जानीजानी खेलेको आसय स्टोक्सले व्यक्त गरेका छन्। तथापी स्टोक्सले उक्त भनाइबारे पछि स्पष्टीकरण दिंदै आफुले त्यस्तो नभनेको र मिडियाले त्यसलाई बंग्याएर प्रस्तुत गरेको बताएका थिए। 

भारतलाई आईसीसीले सजाय दिनुपर्छ

स्टोक्सको भनाइलाई पाकिस्तानी क्रिकेट जानकारहरुले एकरुपताका साथ समर्थन गरेका छन्। पाकिस्तानी टेलिभिजन एरि न्युजसंग कुराकानीको क्रममा शनिवार रज्जाकले स्टोक्सको भनाइको समर्थन गरेका हुन् –

“हामि खेल हेरिरहँदा पनि त्यस्तै महसुस गरेका थियौं। मलाई लाग्छ आईसीसीले भारतलाई सजाय दिनुपर्छ।कुनै पनि टिमले जानीजानी अर्को टिम छनौट नहोस् भनेर खेल हार्छ भने त्यो टिमलाई कारवाही गर्नुपर्छ। एउटा राम्रो बलरले आफ्नो स्तर अनुसार बलिंग गर्न चाहदैन, राम्रो लाइन, लेन्थमा बलिंग गर्दैन र त्यसै रन दिने गर्छ भने त्यो हेर्नेलाई थाहा हुन्छ”

अब्दुल रज्जाक

“कुनै शंका छैन ( भारतले जानाजान खेल हारेको )। मैले त्यही बेला भनेको थियो। सबै क्रिकेटरले त्यही महसुस गरेका थिए। एउटा खेलाडी जसले छक्का-चौका हान्न सक्छ त्यो बल डिफेन्ड गर्दै थियो, सबैलाई थाहा छ” रज्जाकले थपे।

के भएको थियो 

आईसीसी विश्वकप २०१९ अन्तर्गत जुन ३० मा खेल खेलिएको थियो। खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिंग गर्दै भारतलाई ३३८ रनको लक्ष्य दिएको थियो। रोहित शर्माले शतक बनाउनुको बाबजुद भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउदै खेल ३१ रनले हारेको थियो। खेलको ३६ ओभरमा १९८/३ को अवस्थामा रहेको भारतले त्यसपछि आक्रामक ब्याटिंग गर्न नसक्दा खेल हार्न पुगेको थियो। धोनीले अविजित ४२ रन बनाउदा ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। धोनीले आक्रामक ब्याटिंग नगरेको र ब्याटिंगमा जित्ने प्रयास नभएको भन्दै खेलपछि निकै आलोचना भएको थियो। 

इंग्ल्यान्डले उक्त खेल हारेको भए पाकिस्तान अघिल्लो चरण पुग्ने सम्भावना बलियो हुन्थ्यो भने इंग्ल्यान्ड विश्वकपबाट बाहिर हुन्थ्यो। भारतको हार पछि उक्त प्रतियोगिताको अपराजित यात्रा रोकिएको थियो भने इंग्ल्यान्डले सेमीफाइनल सम्भावना कायमै राखेको थियो। इंग्ल्याण्डको जितले पाकिस्तानलाई भने सेमीफाइनल पुग्ने सम्भावना मुस्किल भएको थियो।


वेस्टइन्डिज खेलाडीहरुले पनि भारत जानाजान हारेको बताएका थिए – मुस्ताक एहमद

पुर्व पाकिस्तान स्पिनर मुस्ताक एहमदले भारत इंग्ल्यान्डसंग हारेपछि उक्त खेल हेरेका वेस्टइन्डिज खेलाडीहरुले पनि भारत जानीजानी हारेको आफुलाई बताएको सोहि अन्तर्वार्तामा बताएका छन्।

“उक्त विश्वकपमा म वेस्ट इन्डिज टिमसंग काम गरिरहेको थिए। इंग्ल्यान्डसंग भारत हारेपछि जेसन होल्डर, क्रिस गेल र आन्द्रे रसेलले मसंग भनेका थिए, मुसी, भारतले पाकिस्तान सेमीफाइनल पुगेको हेर्न चाहदैन”

२०७७ जेष्ठ २२, बिहीबार मा प्रकाशित