बाँकेको खजुरामा ५८ करोडको खेलकुद ग्राम निर्माण शुरु

सरकारको ‘एक गाउँपालिका, एक खेलकुद ग्राम’ निर्माण गर्ने नीति तथा कार्यक्रम अनुसार बाँकेको खजुरा गाउँपालिकामा ५८ करोडको लागतमा खेलकुद ग्राम निर्माण कार्य शुरु गरिएको छ ।

खजुरा गाउँपालिकाको वडा–२ सीतापुर शुक्र भलिबल स्टेडियममा खेलकुद ग्राम निर्माणको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिनुभयो । उहाँले खेलकुद ग्राम निर्माणको लागि ५७ करोड ८७ लाखको डीपीआर अनुसारको रकम खर्च गरिने जनाउँदै निर्माण कार्य शुरु गरिसकिएको बताउनुभयो ।

आयोजनाअन्तर्गत सीतापुरमा राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडी पोखरी, बहुउदेश्यीय कर्वडल, जिमहल, पार्किङ, आवासीय भवन बन्ने उहाँले जनाउनुभयो । ग्राम निर्माणका लागि लाग्ने रकममध्ये सरकारले चालू आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको र सोही रकमबाट काम शुरु गरिएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।

आठौँ राष्ट्रिय खेलकुद २०७५/०७६ मा खजुरामा भलिबल , फुटबल, महिला हक्की र बक्सिङ स्थानीय रुपमा सफल आयोजना भएको थियो ।

वि. सं. २०६८ सालबाटै खजुरामा खेलकुद ग्रामको लागि पहल थालिएको जनाउँदै अहिले आएर खेलकुद ग्रामको योजना कार्यान्वयनमा आएकोमा खुशी लागेको खेलकुद विकास समिति प्रदेश नम्बर ५ का निवर्तमान अध्यक्ष भीम ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेलकुदबाट खजुरालाई चिनाउने गरी तयार भएको ड्रिम प्रोजेक्ट कार्यान्वयनको चरणमा पुग्दा निकै खुसी लागेको छ ।’ गाउँपालिकाका अध्यक्ष कक्षपति खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताउँनुहुन्छ । स्थानीय वडा र क्लबहरूले पनि खेलकुद गतिविधिलाई बढावा दिएका छन् ।

खजुरामै केही दिनपहिले मात्रै ब्याडमिन्टनको कभर्डहलको निर्माण पनि शुरु गरिएको छ ।

( साभार – गोरखापत्र )

२०७७ जेष्ठ २४, शनिबार मा प्रकाशित