बायर्नलाई आठौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि

(एजेन्सी) म्युनिख, असार ३–

बायर्न म्युनिकले लगातार आठौंपल्ट जर्मन बुन्डेसलिगा जितेको छ । मंगलबार राति भएको खेलमा बायर्नले रोबर्ट लेवनडोस्कीको गोलमा भेरडाआ ब्रेमेनलाई १–० ले हराउँदै आठौंपल्ट उपाधि जितेको हो ।

कोरोना भाइरस संक्रमणको महामारीयता फेरि सुरु भएको लिगमा बायर्नको यो लगातार आठौं जित पनि हो । सन् २०१३ यता बायर्नले लगातार बुन्डेसलिगाको उपाधि जितेको छ । प्रशिक्षक हान्स फ्लिकले टिम सम्हालेयता भने यो बायर्नको पहिलो उपाधि हो ।

लेवनडोस्कीले भलि प्रहारमा गोल गरे र यो उनको सिजनको ३१ औं लिग गोल रह्यो । सबै खाले प्रतियोगितामा उनले गरेको गोल संख्या भने ४६ पुगेको छ । हारले ब्रेमेन पुछारबाट दोस्रोमा रह्यो र उसमाथि सन् १९८० यता पहिलो रेलिगेसन दबाब बढेको छ ।

मंगलबार रातिको अर्को खेलमा पारडाबोन युनियन बर्लिनसँग १–० ले पराजित रह्यो र दोस्रो डिभिजनमा झर्‍यो । जितले युनियन बर्लिन भने लगातार दोस्रो सिजन माथिल्लो डिभिजनमा रहने निश्चित भएको छ ।

२०७७ असार ३, बुधबार मा प्रकाशित