पाकिस्तान पुर्व क्रिकेटर शहिद अफ्रिदीले गत साता ट्वीट गर्दै आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको खुलासा गरेका थिए।
आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा बिभिन्न नकारात्मक हल्लाहरु चलेपछि अफ्रिदीले फेसबुक लाइभ गर्दै स्वास्थ्य अवस्था बारे जानकारी गराएका हुन्।
“मेरो स्वास्थ्य अवस्था बारे सामाजिक संजालमा बिभिन्न हल्लाहरु सुनेपछि यो भिडियो बनाईरहेको छु। पहिलो २-३ दिन मलाई निकै गार्हो भयो तर अहिले मेरो अवस्था सुधार भैरहेको छ” उनले बताए।
अफ्रिदीले कोरोना भाइरससंग आतिनु नपर्ने बताउदै यो संग लड्नुपर्नेमा जोडदिए –
“यसमा डराउनु पर्ने कुरा केहि छैन। तपाई आफै यो भाइरससंग नलडेसम्म यसलाई हराउन सक्नुहुन्न। मेरो लागि पनि यो दिनहरु गार्हो रह्यो।”
यो समयमा आफ्नो बच्चाहरुसंग समय बिताउन नपाएकोमा उनीहरुलाई मिस गरिरहेको अफ्रिदीले बताए –
“मेरो लागि सबैभन्दा मुस्किल कुरा हो कि म मेरो बच्चाहरुसंग समय बिताउन पाइरहेको छैन र उनीहरुलाई अंगाल्न पाइरहेको छैन। म उनीहरुलाई निकै मिस गरिरहेको छु। तर महत्वपूर्ण कुरा यो हो कि सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउनु पर्छ।”
अफ्रिदीले कोरोना आफुलाई लाग्ने रिस्क रहेको पहिलेनै थाहा भएको समेत बताए –
“मलाई थाहा थियो कि मलाई कोभिड-१९ लाग्न सक्नेछ किनकि म च्यारिटीको काम गर्न धेरै यात्रा गरिरहेको थियो। धन्य मलाई पछि कोरोना लागेको थाहा भयो नत्र मानिसहरुलाई सहयोग गर्न पाउने थिईन।”
“धन्यवाद मेरो सुभचिन्तकहरु जसले पाकिस्तान र बाहिरबाट मेरो लागि प्रार्थना गर्नु भयो।” ४० वर्षीय अफ्रिदीले बताए।
अफ्रिदी कोरोना संक्रमित हुने तौफिक उमर पछि दोश्रो पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेटर हुन्। उमरले गत साता आफु कोरोना मुक्त भएको बताएका थिए।
पाकिस्तानमा हालसम्म १ लाख ६० हजार १ सय १८ जनालाई कोरोना संक्रमण पुस्टि भैसकेको छ। ३ हजार ९३ जनाले यो समाचार तयार गर्दासम्म ज्यान गुमाईसकेका छन् भने ५९ हजार २ सय १५ जना निको भएर घर फर्कीसकेका छन्।
