राजपुत नेपाल आउने हल्लापछि जिम्बाब्वे क्रिकेटको ट्वीट, ‘हात्ती आयो फुस्सा’

नेपाली राष्ट्रिय क्रिकेट टिमको खालि रहेको मुख्य प्रशिक्षकको पद हाल टेस्ट राष्ट्र जिम्बाब्वेको प्रशिक्षक रहेका भारतीय लालचन्द राजपुतले परिपूर्ति गर्ने सम्भावना समाप्त भएको छ।

गत वर्ष माघमा प्रशिक्षक उमेश पटवालले राजिनामा दिएपछि उनको स्थान पूर्ति गर्न क्यान प्रयासरत छ। प्रशिक्षककै खोजिमा क्यान अध्यक्ष चतुर बहादुर चन्द लकडाउन अघि भारत पुगेका थिए। भ्रमण पछि अध्यक्ष चन्दले लालचन्द राजपुत मुख्य प्रशिक्षकको रुपमा नेपाल आउन तयार रहेको र औपचारिकता मात्र बाँकी रहेको बताउदै आएका थिए। नेपाली क्रिकेट समर्थकहरुले चन्दको उक्त भनाइ पछि राजपुतलाई भावी प्रशिक्षकको रुपमा मान्न थालीसकेका थिए। सामाजिक संजालमा त राजपुत ल्याउने निर्णय सहि गलत समेत बहस थालिएको थियो।

तर अब राजपुत आउने उक्त खबर ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ। जिम्बाब्वे क्रिकेट बोर्डले बिहिबार राति ट्वीटरमार्फत ५८ वर्षीय प्रशिक्षक जिम्बाब्वे क्रिकेटसंगनै रहने र २०२१ सेप्टेम्बरसम्म उनको कार्यकाल रहने बताएको छ। राजपुतलाई २०१८ मे मा जिम्बाब्वेको प्रशिक्षक नियुक्त गरिएको थियो जसपछि २०१८ अगस्टमा उनले स्थायी रुपमा नियुक्ति पाएका थिए।

“लालचन्द राजपुतले जिम्बाब्वे क्रिकेटसंगको सम्झौताको सम्मान गर्दै आफ्नो तिन वर्षे सम्झौता अवधिभर जिम्बाब्वे क्रिकेट टिमसंगै रहने बताएका छन्। सम्झौता अवधि सेप्टेम्बर २०२१ सम्म रहेको छ। मिडिया रिपोर्ट अनुसार ५८ वर्षीय प्रशिक्षक अन्यस्थानमा जाने हल्ला थियो।” जिम्बाब्वे क्रिकेटले आफ्नो अधिकारिक ट्वीटमा लेखेको छ।

सन् १९८५ देखि १९८७ मा भारतको लागि २ टेस्ट र ४ एकदिवसीय खेलेका राजपुत यस अघि अफगानिस्तानको प्रशिक्षण सम्हालीसकेका छन्। उनकै कार्यकालमा अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाएका थियो जसमा राजपुतको पनि भूमिका मुख्य मानिन्छ। २००७ मा भारतले टि-२० विश्वकप जित्दा राजपुत भारती टिमको म्यानेजर रहेका थिए। जसपछि उनि आईपीएल २००८ मा मुम्बई इन्डीएन्सको प्रशिक्षक रहेका थिए।

राजपुत नेपाल नआउने भएपछि क्यानले अन्य बिकल्पहरु को-को रहेको बारे खुलाएको छैन। राजपुत नेपाल आएको भए रोय डायस पछि सबैभन्दा हाइ प्रोफाइल नेपाली प्रशिक्षक हुने थिए।

२०७७ असार ५, शुक्रबार मा प्रकाशित