“तेन्दुलकरलाई मैले दुइ पटक आउट दिएको निर्णय गलत थियो” स्टिभ बकनर

सन् २००० ताका विश्व क्रिकेटमा स्टिभ बकनर सबैभन्दा उत्कृस्ट क्रिकेट अम्पायर मध्येका थिए। तर त्यसपछि उनले गरको केहि गल्तिहरुले भने करियरको अन्तिममा उनलाई उत्कृस्टको रेसबाट बाहिर गरायो। चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई दुइ पटक उनले दिएको गलत निर्णयले उनको करियरमा कालो धब्बाको रुपमा रह्यो।

सन् २००३ को गबा टेस्टमा बकनरले तेन्दुलकरलाई जेसन गिलेस्पीको बलमा एलबिडब्लु आउट दिएका थिए। उक्त बल विकेट भन्दा निकै माथिबाट गएको थियो। त्यसपछि २००५ मा इडन गार्डेन, कोलकातामा अब्दुल रज्जाकको बलमा सचिन क्याच आउट दिएका थिए। उक्त बल रिप्लेमा हेर्दा ब्याटलाई नछोइ टाढाबाट गइरहेको थियो। सन् २००८ मा भारत र अस्ट्रेलिया बीच सम्पन्न टेस्ट सिरिजको बकनरले एकै टेस्टमा धेरैवटा गलत निर्णय दिंदा भारतको हारको कारण बनेको थियो। त्यस टेस्ट पछि भारतले बकनरको बिरोध गरेपछि आगामी टेस्टमा उनको सट्टा बिल्ली बाउडेनलाई अम्पायर राखिएको घटना चर्चित थियो। करियरको अन्तिममा उनलाई भारत बिरोधि अम्पायर समेत भन्न थालिएको थियो।

“तेन्दुलकरलाई मैले दुइ पटक फरक समयमा आउट दिएको निर्णय गलत थियो। मलाई लाग्दैन अम्पायरले कहिले पनि गलत निर्णय गर्न चाहन्छ। किनकि त्यो निर्णय अम्पायरको भविष्यको लागि जोखिमपूर्ण हुन्छ” एक रेडियो कार्यक्रममा ७४ वर्षीय बकनरले बताए।

“गल्ति गर्नु मानवीय स्वभाव हो। एक पटक अस्ट्रेलियामा मैले उनलाई ( सचिनलाई ) एलबिडब्लु आउट दिएको थिए जुन बल स्टम्पबाट माथि गइरहेको थियो। अर्को पटक भारतमा उनलाई क्याच आउट दिएको थिए जुन बल ब्याटको टाढाबाट गइरहेको थियो। तर उक्त खेल इडन गार्डेन मैदानमा थियो जहाँ भारतले ब्याटिंग गर्दा तपाई केहि सुन्नुहुन्न। किनकि १ लाख समर्थकहरु हल्ला गरिरहेका हुन्छन्।”

“उक्त गल्तिहरुले मलाई निराश बनाएको थियो। म भन्दै छु मानिसलेनै गल्ति गर्ने हो र गल्ति स्विकार्नु मेरो जीवनको हिस्सा हो” उनले थपे।

बकनरले क्रिकेटमा डिसिजन रिभ्यु सिस्टम ( डीआरएस ) लागु भएपछि अम्पायरले गर्ने गलत निर्णय सच्चिने जसले खेललाई हित गरेको विचार व्यक्त गरे –

“म दावीका साथ भन्न सक्दिन कि यसले अम्पायरको आत्मविश्वासमा फरक पर्छ या पर्दैन तर मलाई थाहा छ यसले अम्पायरिंगमा सुधार भएको छ”

“यसले अम्पायरिंगमा सुधार भएको छ किनकि त्यस्तो समय पनि थियो जब ब्याट्सम्यानले लाइन खेल्दा हामि नट आउट निर्णय दिने गर्थ्यौ। तर अहिले टेक्नोलोजीले बलले स्टम्पमा लागेको देखाउछ र आउट दिनुपर्छ। त्यसैले टेक्नोलोजीबाट हामीले सिक्नुपर्छ।”

“यदी कुनै अम्पायरले टेक्नोलोजी भएको मन पराउदैन भने मलाई लाग्छ उसले पुनर्विचार गर्नुपर्छ। किनकि तपाईले गरेको गल्तिलाई त्यसले मैदानमै सुधार गरिदिन्छ।”

“मैले अम्पायरिंग गर्दा जब कुनै ब्याट्सम्यानलाई आउट दिन्थे र थाहा हुन्थ्यो कि उक्त ब्याट्सम्यान आउट थिएन तब आफुले गरेको गल्तिको कारण राति निन्द्रा लाग्थेन। अब तपाई छिट्टै निदाउन सक्नुहुन्छ किनकि तपाईको निर्णय उतिबेलै सच्चिसकेको हुन्छ।”

आफ्नो अन्तिम टेस्टमा स्टिभ बकनर

अम्पायरिंगमा किर्तिमान 

सन् १९८९ देखि २००९ सम्म २० वर्ष अम्पायर रहने क्रममा वेस्टइन्डिज जमैकाका बकनरले १ सय २८ टेस्ट र १ सय ८१ एकदिवसीय अन्तर्राष्ट्रियमा अम्पायरको भूमिका निभाए। उक्त अवधिमा उनले ५ वटा विश्वकपमा ( १९९२ देखि २००७ ) अम्पायरिंग गरे। उनि टेस्ट क्रिकेटमा अलिम दार ( १३२ खेल ) पछि सबैभन्दा बढी अम्पायरिंग गर्ने अम्पायर हुन्। टेस्ट , एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय जोड्ने हो भने उनले कुल ३०९ खेलमा अम्पायरिंग गर्दै विश्वकै तेश्रो धेरै खेलमा अम्पायरिंग रहेका छन्। अलिम दारले ३८६ तथा रुडी कोर्टजनले ३३१ खेलमा अम्पायरिंग गर्दै पहिलो र दोश्रो स्थानमा छन्।

क्रिकेट अम्पायर हुनु अघि उनि फुटबल खेलाडी र रेफ्री थिए भने म्याथको शिक्षक समेत थिए। उनि फुटबल विश्वकप छनौटमा समेत रेफ्री रहेका थिए।  २००७ मा उनलाई खेलकुद क्षेत्रमा विशेष योगदानको लागि अर्डर अफ जमैका अवार्ड दिईएको थियो।

२०७७ असार ८, सोमबार मा प्रकाशित