इंग्ल्याण्ड भ्रमण गर्ने १० पाकिस्तानी खेलाडीमा कोरोना संक्रमण पुस्टि

यही जुन २८ तारिखमा टेस्ट र टि-२० सिरिज खेल्न इंग्ल्याण्ड जान लागेका १० जना पाकिस्तानी क्रिकेटरको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। सोमबार तिन जनामा कोरोना देखिएको थियो जसपछि मंगलबार थप ७ जनामा रिपोर्ट पोजेटिभ आएको हो।

सोमबार शदाब खान, हरिस रौफ र हैदर अलिमा कोरोना संक्रमण देखिएको थियो। पाकिस्तान बोर्डले मंगलबार थप ७ जना खेलाडीहरु फखर जमान, इमरान खान, खासिफ भट्टी, मोहम्मद हफिज , मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाव रियाजको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बताएको छ।

इंग्ल्यान्ड भ्रमणको लागि पाकिस्तानले २९ सदस्यीय तथा ४ जना अतिरिक्त खेलाडीको टिम घोषणा गरेको थियो। १० जना खेलाडीमा कोरोना संक्रमण देखिएपछि पनि बाँकी खेलाडीहरु भने २८ जुनमा इंग्ल्यान्ड प्रस्थान गर्ने बिबिसीले बताएको छ।

इंग्ल्याण्ड र पाकिस्तानले तिन वटा टेस्ट र तिनवटै टि-२० को सिरिज अगस्ट र सेप्टेम्बरमा खेल्ने तालिका रहेको छ।

१० जना खेलाडीहरुलाई पाकिस्तान बोर्डले आफ्नै घरमा क्वारेन्टाइनमा बस्न आदेश दिईसकेको छ।

कोरोना नेगेटिभ आएको खेलाडी र सहायक स्टाफहरु बुधबार भेट्नेछन् जसको पुनः बिहिबार अर्को टेस्ट हुनेछ। इंग्ल्यान्ड पुगेको २४ घण्टा भित्र पुनः सबैको कोरोना टेस्ट हुनेछ। संक्रमित खेलाडीहरुले अब भ्रमणको लागि तयार रहनको लागि २ वटा टेस्ट पास गर्नुपर्नेछ।

शदाब खान, हरिश रौफ र हैदर अलिको रिपोर्ट मंगलबारनै पोजेटिभ आएको थियो

“संक्रमित देखिएका सबै खेलाडीहरु फिट रहेका छन् र कोरोनाको कुनै लक्षण उनीहरुमा देखिएको छैन।” पाकिस्तान बोर्डका वासिम खानले बताएका छन्।

“जसलाई कोरोना पोजेटिभ देखिएको छ उनीहरुलाई हामी निरन्तर निगरानी र साथ दिने छौँ। उनीहरुको पुनः परिक्षण गर्नेछौ र नेगेटिभ देखिएमा इंग्ल्यान्ड जान अनुमति दिनेछौँ” खानले बताए।

पाकिस्तानमा मंगलबार बिहानसम्म १ लाख ८५ हजार ३४ जनामा कोरोना संक्रमण देखिएको छ जसले ३ हजार ६ सय ९५ जनाको मृत्यु भैसकेको छ।

इंग्ल्याण्डले पाकिस्तानसंग सिरिज खेल्नु अघि वेस्टइन्डिजसंग ८ जुलाई देखि तिन वटा टेस्ट खेल्नेछ। वेस्ट इन्डिज टिम इंग्ल्यान्ड पुगेर पनि १४ दिन क्वारेन्टाइन बसीसकेको छ।

इंग्ल्यान्डमा पाकिस्तानी टिम पुगीसकेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नेछन्। त्यहाँ पुगीसकेपछि पनि खेलाडीहरुले अन्य कोहिसंग पनि सम्पर्क गर्नेछैनन्।

कोरोना पोजेटिभ देखिएका पाकिस्तानी खेलाडीहरु :-

Kashif Bhatti, Mohammad Hafeez, Mohammad Hasnain, Fakhar Zaman, Imran Khan, Mohammad Rizwan and Wahab Riaz.

कोरोना नेगेटिभ देखिएका पाकिस्तानी खेलाडीहरु :-

Abid Ali, Asad Shafiq, Azhar Ali, Babar Azam, Faheem Ashraf, Fawad Alam, Iftikhar Ahmad, Imam-ul-Haq, Khushdil Shah, Mohammad Abbas, Naseem Shah, Sarfaraz Ahmed, Shaheen Shah Afridi, Shan Masood, Sohail Khan and Yasir Shah.

२०७७ असार ९, मंगलवार मा प्रकाशित