सिपिएल टि-२० ड्राफ्ट आज : सन्दिपको ड्राफ्ट मूल्य ९० हजार डलर

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) प्रतियोगिताको लागि खेलाडी छनौट गर्न ड्राफ्ट कार्यक्रम आज हुँदैछ। अनलाइन मार्फत बुधबार राति हुने ड्राफ्टमा २३ देशका कुल ५ सय ३७ जना खेलाडीहरुले नाम दर्ता गराएका छन्।

सिपीएल टि-२० मा अघिल्लो २ संस्करण खेलेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने माथि सबैको नजर रहेको छ। पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको लागि मात्र ५ हजार डलरमा छनौट भएका सन्दिपले त्यसपछि दोश्रो सिजनमा बार्बेडोस ट्राइडेन्टको लागि छनौट हुँदा भने ७० हजार डलर पाएका थिए।

कति छ सन्दीपको मूल्य 

यो पटक सन्दिपले आफ्नो मुल्य बढाऊदै ९० हजार डलर ( रू. १ करोड ८ लाख ५७ हजार ) राखेका छन्। यतिनै मूल्यमा फाफ डु प्लेसिस, डेभिड मिलर, मोहम्मद नबि, ड्यार्सी सर्ट, मुजिब उर् रहमानले पनि नाम दर्ता गराएका छन्।

शाहिद अफ्रिदी ( १ लाख ६० हजार डलर ) , आयन मोर्गन ( १ लाख ३० हजार डलर ) तथा बेन कटिंग ( १ लाख १० हजार डलर ) मूल्यमा ड्राफ्टमा रहेका छन्।

ड्राफ्ट हुनु अघिनै अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिन, अफगानिस्तान स्पिनर राशिद खान र कैस एहमद तथा दक्षिण अफ्रिकी ब्याट्सम्यान राइली रोस्युलाई बिभिन्न फ़्रेन्चाइज्हरुले लिईसकेको क्रिक्इन्फोले बताएको छ। अब आफ्नो टिम पुरा गर्नको लागि ड्राफ्टबाट तल्लावाहले ११ जना, सेन्ट किट्सले ६ जना तथा बार्बेडोस ट्राइडेन्टले ५ जना तथा गुएना अमेजन र ट्रिनबागो नाइट राइडर्सले समान ३/३ जना खेलाडी लिनुपर्नेछ।

सीपीएल टि-२० ले आफ्नो प्लेयिंग-११ मा ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ।

गत सिजन बार्बेडोसले सन्दिपलाई ७० हजार डलरमा लिएको थियो

दर्शक बिना प्रतियोगिता 

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल टि-२० ) को आठौँ संस्करण १८ अगस्ट देखि १० सेप्टेम्बरसम्म आयोजना हुनेछ। कोभीड-१९ का कारण प्रतियोगिता आयोजना हुने नहुने संशय भने अझै बाँकी रहेको छ। प्रतियोगिता दर्शक बिना खेलाइने आयोजकले बताउदै आएको छ तै पनि सरकारी अनुमति भने अझै लिगले पाएको छैन।

सीपीएल टि-२० खेल्ने ६ वटै टिमले अगस्ट १ सम्म आफ्नो सम्पूर्ण टिम निर्धारण गर्नुपर्नेछ। प्रतियोगिता सुरु हुनु २ हफ्ता अघि देखि सबै खेलाडी र स्टाफहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ।

प्रतियोगितामा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाह, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई पराजित गर्दै जितेको थियो।

सन्दिपको सीपीएल टि-२० मा हालसम्म प्रदर्शन 

प्रतियोगिताको अघिल्लो संस्करणमा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका सन्दिपले मात्र ६ खेल खेल्न पाएका थिए जुन क्रममा कुल ८ विकेट लिएका थिए। ६ खेल खेलेपछि सन्दिप त्रिकोणात्मक टि-२० सिरिज खेल्न सिंगापुर पुगेका थिए।

सन्दिपले करेबियन प्रिमियर लिगको पहिलो सिजन २०१८ मा खेलेका थिए जुन क्रममा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको लागि ५ खेल खेल्दै ७ विकेट लिएका थिए। उक्त सिजन पनि सन्दिपले लिग बीचमै छोड्नु परेको थियो र एसिया कप छनौट खेल्न लिग छोडेर मलेसिया जानु परेको थियो।

कुल ११ खेल खेल्दा सीपीएलमा सन्दिपले १५ विकेट लिएका छन्।

सन्दिप लामिछानेले खेलेका र छानिएका केहि लिगहरु र पाएको मूल्य 

. बिग ब्यास लिग :  रु. १ करोड भन्दा बढी ( आधिकारिक रुपमा घोषणा नगरिएको )

२. २०२० द हन्ड्रेड :  १ लाख पाउण्ड , प्रतियोगिता कोरोनाका कारण अनिश्चितकाको लागि सरेको छ

. २०१९ करेबियन प्रिमियर लिग  : ७० हजार डलर

४. इन्डियन प्रिमियर लिग : नेरु ३२ लाख ( २०१८ देखि २०२० सिजनसम्म )

५. ग्लोबल टि-२० लिग क्यानडा : ६० हजार डलर

सन्दिपले खेलेका विदेशी टि-२० लिगहरु :-

१. हंगकंग टि-२० ब्लिटज २. इन्डियन प्रिमियर लिग ( आईपीएल )  ३. ग्लोबल टि-२० क्यानडा ४. करेबियन प्रिमियर लिग  ५. बिग ब्यास ६. टि-१० लिग ७. अफगानिस्तान प्रिमियर लिग ८. बंगलादेश प्रिमियर लिग ९. पाकिस्तान सुपर लिग

२०७७ असार १०, बुधबार मा प्रकाशित