वाट्फोर्डविरुद्ध म्यान्चेस्टर सिटिको फराकिलो जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा म्यान्चेस्टर सिटिले वाट्फोर्डविरुद्ध ०-४ को फराकिलो जित दर्ता गरेको छ । सिटिको जितमा स्ट्रलिङले दुई तथा फोडेन र लापोर्टेले समान एक-एक गोल गरे ।

३१ औं मिनेटको खेलमा वाल्करको क्रस पासमा स्ट्रलिङले गोल गर्दै सिटिलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटको खेलमा सिटिले पाएको पेनाल्टीलाई स्ट्रलिङले गोल गर्नबाट चुक्न पुगे । स्ट्रलिङको पेनाल्टीलाई वार्ट्फोर्डका गोलरक्षक विन फोस्टरले बचाएपनि रिवाउन्डमा आएको बललाई स्ट्रलिङले गोलको दिशा देखाउन सफल भए ।

एकपक्षीय बनेको खेलको ६३ औं मिनेटमा सिटिका युवा खेलाडी फोडेनले गोल गर्दै सिटिलाई एकतर्फी जिततर्फ अग्रसर गराए । गोल भारको सहायताले पक्का गरिएको थियो ।
खेलमा निकै आक्रमण बनाएको सिटिले ६६ औं मिनेटमा केविन डि ब्रुयनको पासमा लापोर्टेले गोल गर्दै सिटिको फराकिलो जित पक्का गराएका थिए ।

ब्रुयनले जारी सिजनमा १९ असिस्ट पूरा गरिसकेका छन् । स्ट्रलिङले पनि १९ गोल गर्दै गोल्डेन बुटको दौड तर्फ अग्रसर बनेका छन् । लिग समाप्त हुन केवल १ चरणका खेलहरु बाँकी रहदा स्ट्रलिङ शिर्ष स्थानमा रहेका भार्डी भन्दा ४ गोलले पछाडि छन् ।

वार्ट्फोर्डले पछिल्लो १८ खेलमा सिटिविरुद्ध हार बेहोरेको छ ।

हारसँगै वार्ट्फोर्डको रेलिगेसनको डर बडेको छ । १८ औं स्थानमा रहेको वार्ट्फोर्डको ३४ अंक रहेको छ भने १७ औं स्थानको एस्टोन भिल्लाको पनि समान अंक रहेको छ । बर्नमाउथ ३१ अंक सहित १९ औं स्थानमा छ ।

सिटिले च्याम्पियन टोलि लिभरपुलसँगको अंक दुरि १५ मा झारेको छ । ३७ खेलमा ७८ अंक सहित सिटि दोस्रो स्थानमा यथावत रहेको छ ।

लिगको आगामी तथा अन्तिम खेलमा सिटिले पुच्छरमा रहेको नर्विचको सामना गर्ने छ । वार्ट्फोर्डले भने आर्सनलको सामना गर्दै छ । रेलिगेसनबाट जोगिन वार्ट्फोर्डलाई उक्त खेल निकै महत्त्वपूर्ण हुने छ ।

२०७७ श्रावण ७, बुधबार मा प्रकाशित